समयमै बजेट कार्यान्वय गर्न नसके तत्काल सरेण्डर गर्न अर्थ मन्त्री बरालको निर्देशन

केन्द्रभाग मिडिया

गोरखा ।

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले समयमै बजेट कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयले मंगलबार गोरखामा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुशासन सम्बन्धि अन्तरक्रिया एवं छलफल कार्यक्रममा वोल्दै मन्त्री बरालले कुनै बाहना बाजी नगरी समयमै बजेट कार्यान्वयन हुने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।

दोश्रो चौमासिक भित्र पनि कार्यक्रम कार्यान्वयनमा जान सक्ने अवस्था नभएमा तत्काल सरेण्डर (आत्मसमपर्ण) गर्न मन्त्री बरालले आदेश दिए । अधिकांश मन्त्रालयबाट बजेट माग भए पछि मन्त्री बरालले प्राप्त बजेटलाई सिमित श्रोत साधनको प्रयोग गरी कार्यान्वयन गर्न आग्रह गरे ।

गोर्खाका प्रादेशिक कार्यालयहरुलाई पुरस्कृत हुने गरी काम गर्न उनको भनाई थियो । कार्यक्रममा वोल्दै मन्त्री बरालले अघिल्लो बर्षको तुलनामा यस बर्ष करिब ५ अर्ब कम बजेट विनियोजन भएकोले प्राप्त बजेटलाई प्रभावकारी ढंगले कार्यान्वन गर्नूपर्ने अवस्था रहेको बताए ।

गण्डकी प्रदेशका पूर्व मन्त्री लेखबहादुर थापा मगरले दोश्रो चौमासिकसम्म कार्यान्वयन सुरु नभएका योजनाहरु रद्ध गर्न सुझाव दिए । उनले जिल्लामा राजश्व संकलन गर्न धेरै क्षेत्रहरु छुटेको तथा उठ्नुपर्ने राजश्व कम उठेकोले अनुगमन आवश्यक भएको बताए।

अर्थ मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले आ–आफ्नो मन्त्रालय अन्र्तगत कार्यालयहरुले आवश्यक बजेट माग गर्न सुझाव दिए । गोर्खा जिल्लाबाट करिब ६० करोड बढी बजेट माग भएको उनले बताए। बजेट कार्यान्वयनको अबस्था बुझि कठिनाइ भएको अबस्थामा सहजीकरण गर्ने र आगामी बजेट निर्माणमा सुधार गर्नुपर्ने कुराको पृष्ठपोषणको लागि पनि जिल्लागत रुपमा छलफल गरिएको सचिव अर्यालले बताए ।

कोष तथा लेखा नियन्त्रक कार्यालय गोर्खाका प्रमुख महेन्द्र प्रसाद भण्डारीले यही मंसिर २७ गतेसम्म प्रदेश अन्र्तगत बजेट कार्यान्वय पूंजिगत तर्फ १७.२८ प्रतिशत बजेट खर्च भएको बताए ।

गोरखामा चालु आ.व.मा १ अर्ब ८३ लाख बजेट विनियोजन भएको उनले बताए ।

  • २८ मंसिर २०७८, मंगलवार १४:५४ प्रकाशित