अन्तत् देउवाको पक्षमा सिंह र निधि: ‘देउवाले पार्टीका कमजोरी समाधान गर्दा सल्लाह गर्छु भने पछि फकिए’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह अन्तत् प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा उभिएका छन् । दोस्रो चरणमा हुन लागेको मतदानमा सिंहले देउवालाई साथ दिने बताएका हुन् ।

पहिलो चरणमा काँग्रेस सभापतिमा कसैको पनि ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणको मतदान हुन लागेको हो । सिंहले देउवालाई सघाउने भएपछि संस्थापनइतर समुह कमजोर बनेको छ । नेता शेखर कोइराला अब औपचारिकताको लागि मात्रै प्रतिष्पर्धामा रहने लगभग निश्चित भएको छ ।

आफूहरुले नेतृत्व परिवर्तनको कुरा उठाए पनि पहिलो चरणको निर्वाचनमा अधिकांश प्रतिनिधिको मत देउवालाई नै दोहोर्‍याउनुपर्ने देखिएको उनको भनाइ छ ।

‘हामीसँग कुरा गर्दा वहाँले विधान संशोधनको कुरा पार्टीमा भइरहेको कमी कमजोरीलाई समाधान गर्दा सबैसँग सल्लाह गर्छु एकपटक मलाई सहयोग गर्नुहोस् भनेर भन्नुभयो,’ सिंहले भने ।

दोस्रो चरणमा मङ्गलवार साढे ३ बजेदेखि मतदान हुँदैछ।

निधिको पनि समर्थन

सभापति पदका अर्का उम्मेदवार निधिले पनि दोस्रो चरणको निर्वाचनमा सभापतिमा देउवालाई साथ दिने बताएका छन्।निधि निवासमा पुगेका देउवासँगको छलफल पछि निधिले आफूले पनि देउवालाई नै समर्थन गर्ने बताएका हुन।

“मैले उहाँलाई भनेँ म तपाईँलाई पूर्ण समर्थन गर्छु। र म साथीहरूसँग पनि के आग्रह गर्न चाहन्छु भने… दोस्रो चरणमा पुरै विनासर्त पार्टी सभापतिमा शेरबहादुर देउवालाई नै समर्थन गर्ने मैले उहाँलाई जानकारी गराएँ,” निधिले भने।

  • २८ मंसिर २०७८, मंगलवार १३:०४ प्रकाशित