देउवा र कोइरालाको दौढधुप, तानातानमा प्रतिस्पर्धाबाट बाहिरिएकाहरु

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पहिलो चरणमा सभापतिको छिनोफानो नभएपछि दोस्रो चरणको मतदान हुँदैछ । दोस्रो चरणको मतदानमा पहिलोमा सभापति पदको प्रतिस्पर्धाबाट बाहिरिएका तीन नेताहरु निर्णायक बनेपछि उनीहरुलाई आफ्नो पक्षमा पार्न सभापतिको प्रतिस्पर्धामा रहेका शेरबहादुर देउवा र डा.शेखर कोइराला दुबै पक्ष लागि परेका छन् ।

यस बीचमा शेखर कोइराला र प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । देउवा पक्षका नेता बालकृष्ण खाँणले सिंहलाई भेटेर फर्केलगत्तै डा. शेखर कोइरालाले प्रकाशमान सिंहलाई निवासमै गएर भेटेका हुन् ।

भेटका क्रममा डा. कोइरालाले अब दोस्रो चरणको चुनावमा आफूलाई सघाउन सिंहसँग आग्रह गरेका थिए । जवाफमा सिंहले आफ्नो टिमका नेताहरूसँग छलफल गरेर सामूहिक रूपमा निर्णयमा पुग्ने जवाफ दिएका जनाइएको छ ।

यसअघि सिंहले बालकृष्ण खाँणलाई पनि उनले यही जवाफ दिएर पठाएका थिए । खाँणले दोस्रो चरणमा देउवालाई सघाउन सिंहसँग आग्रह गरेका थिए । प्रकाशमान सिंहले पहिलो चरणको चुनावमा ३७१ मतका साथ तेस्रो स्थान हासिल गरेका छन् । उनको टिममा सुजाता कोइराला, विश्वप्रकाश शर्मा लगायतका नेताहरू छन् ।

यसैगरी विमलेन्द्र निधि र कल्याण गुरुङलाई समेत विश्वासमा लिने र आफ्नो पक्षमा पार्ने प्रयासमा दुबै समूहका नेताहरु लागि परेका छन् । विमलेन्द्र निधि विगतमा देउवा समूहमै रहेपनि उनले दोस्रो चरणमा शेरबहादुर देउवा विरुद्धको मोर्चामा सामेल हुने घोष्णा गरिसकेका छन् ।

  • २८ मंसिर २०७८, मंगलवार १०:३९ प्रकाशित