सभापतिमा विजयी हुन बरिष्ठ नेता पौडेलले दिए शेखरलाई शुभकामना

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेट गरेका छन्। कोइरालाले सोमबार बिहान पौडेलनिवास बोहराटारमै पुगेर उनीसँग भेट गरेका हुन्।

भेटका अवसरमा पौडेलले शेखरलाई जितको शुभकामना दिएका छन्। पौडेललाई उद्दृत गर्दै कोइरालाको सचिवालयले भन्यो भने, ‘नेतृत्व परिवर्तनको अहिलेको आवश्यकता हो। तपाईलाई शुभकामना छ।’ भेटमा पौडेलले संस्थापन इत्तर एक हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका थिए। पौडेलले प्रतिस्पर्धाबाट आफू बाहिरिएपनि आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पधाको आदर्श र मूल्यलाई जोगाउन आग्रह गरे।

सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवा समूहले रामचन्द्र पौडेलले आफूलाई सघाउने भनी प्रचार गरेकोप्रति संकेत गर्दै पौडेलले आफ्नो शुभेच्छा कोइरालालाई नै रहेको बताएका थिए। निर्वाचन प्रक्रियामा भाग नलिएपनि सभापतिका उम्मेदवार डा। कोइरालालाई आफ्नो समर्थन रहने उनले प्रष्ट पारेका छन् ।

वरिष्ठ नेता पौडेलले मतदानमा भाग नलिने निर्णय गरिसकेका छन्। सोमबार बिहानबाट नयाँ नेतृत्वका लागि मतदान प्रक्रियामा उनले भाग नलिने भएका हुन्। पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारी अहिलेको अस्वस्थ प्रतिस्पर्धाप्रति नेता पौडेलले असहमति जनाएको बताए। अधिकारीले अन्नपूर्णसँग भने ‘अहिलेको कांग्रेसमा अस्वस्थ प्रतिस्पर्धा छ। अस्वस्थ प्रतिष्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट बाहिरिएको हुँ भन्नु भएको छ।’

सभापतिमा शेरबहादुर देउवा, डा. कोइराला, सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङले प्रतिस्पर्धा गर्दैछन्।

  • २७ मंसिर २०७८, सोमबार १२:४३ प्रकाशित