कांग्रेसको चुनौति : न गठबन्धन भत्किनेछ, न चुनावमा कांग्रेस र कम्युनिष्ट मिल्नेछन्

केन्द्रभाग मिडिया

विमल तिवारी ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन र यसबाट आउने नेतृत्वलाई लिएर सत्तारुढ पाँच दलीय गठबन्धनको भविष्य माथि विभिन्न अड्कलबाजी भइरहेका छन् ।

सभापति आकांक्षीले नै यो गठबन्धनलाई निरन्तरता दिन…… भनेपछि अझ यो अड्कलबाजी र बहसले तिव्रता पाइरहेको छ । तर, देशको राजनीतिक अवस्थाको विश्लेषण र नेताहरुको मनोविज्ञानलाई बुझ्ने हो भने, दाबी गरिएजस्तो कांग्रेस नेतृत्वमा जो आएपनि न यो गठबन्धन भत्किने देखिन्छ, न चुनावमा कम्युनिष्ट र कांग्रेस मिलेर देशव्यापी चुनावमा जाने देखिन्छ । कांग्रेसको नेतृत्वमा जुन पात्र आएपनि सत्य के हुनेछ भने अहिलेकै अवस्थामा शीर्ष नेताहरुका लागि ठूला भनिने सबै दल, देशव्यापी चार दलीय, तीन दलीय गठबन्धन हुने निस्चित छ । केही बाम दलहरुको छुट्टै मोर्चा पनि बन्न सक्ने छ ।

कम्युनिष्ट भत्केको देखेर मख्ख कांग्रेस आगामी निर्वाचनमा देश व्यापी रुपमा कम्युनिष्टहरुसंग निर्वाचनमा मिलेर जान पनि सक्ने देखिन्न भने कम्युनिष्ट मिल्दा पुरानै दूर्दशामा फर्कने खतरामा पनि छ । त्यति मात्र नभई आगामी निर्वाचनमा अघिल्लो निर्वाचनमा बनेको कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन पनि अहिले भत्किएको छ ।

अहिले विश्लेषण गरिएजस्तो कांग्रेसमा जो निर्वाचित भएर आएपनि तत्कालिन पाँच दलीय गठबन्धनलाई कुनै धक्का लाग्ने छैन । बरु निर्वाचनमा जाँदा लिनसक्ने स–सानो अडानले पनि भत्केका कम्युनिष्ट हेरेर आफूलाई शक्तिसाली ठानेको कांग्रेस गत निर्वाचनकै हैसियतमा पुग्ने जोखिम उत्तिकै छ ।

साच्चै आन्तरिक निर्वाचनमा होमिदाको मनोविज्ञान आगामी निर्वाचनमा रहने जोखिमलाई बेलैमा न्युनिकरण गर्ने र एकतावद्ध कांग्रेस राख्ने निर्वाचित नयाँ टिमका लागि मुख्य चुनौती रहने छ ।

देशव्यापी रुपमा पाँच दल मिलेर निर्वाचन लड्न नै असंभव

संसद विघटन हुनबाट जोगाउन र संविधान अनुरुप संसदलाई पुरा अवधी टिकाउनका लागि अहिले बनेको गठबन्धन बाध्यात्मक गठबन्धन हो ।

यही गठबन्धनको सरकारले आउने स्थानीय, प्रदेश र संघीय निर्वाचन गराउने छ । गठबन्धन सरकारले निर्वाचन गरे पनि देशव्यापी रुपमा गठबन्धन भएरै निर्वाचन हुन्छ भनेर मुर्खले बाहेक अरुले भन्ने विषय होइन । किनकी कांग्रेस कम्युनिष्टहरु विभाजित भएका बेला आफ्नो शक्ति मजबुद् भएको अनुभव गरिरहेको छ ।

आगामी निर्वाचनमा एक्लै बहुमत आउने केही नेताहरुको दबाबमा जसको नेतृत्व भएपनि कांग्रेस नेतृत्व पर्नेछ । त्यसको छनक युवा नेताहरुले दिइसकेका छन् । त्यसमाथि आकांक्षी व्यवस्थापन अर्को चुनौतिको विषय रहनेछ । त्यसको प्रष्ट झल्को कांग्रेसको महाधिवेशनमा नेतृत्व लिनका लागि वडा देखि स्थानीय तह अनि जिल्ला र प्रदेश हुँदै केन्द्रसम्मका निर्वाचन हेरे पुग्छ ।

मन्त्रालयको भागबण्डा लगाउन नै कठिन परेको यो गठबन्धनका लागि निर्वाचन क्षेत्र भागबण्डा लगाउन फलामको चिउरा चपाउन भन्दा कठिन विषय हो । त्यसरी भागबण्डा लगाइए आफ्नो आधार क्षेत्र अरु दलको नेतालाई दिनुपर्दा स्थानीय नेताहरुले नै त्यसलाई भत्काउने छन् । त्यसकारण कांग्रेस गठबन्धनमा सामेल अरु दलका बीच भागबण्डाको विषय त्यति सजिलो विषय रहने छैन । जसका कारण पनि पाँच दलीय गठबन्धन बन्न संभव हुनेछैन र बन्ने छैन ।

शीर्ष नेता जिताउन गठबन्धन
कम्युनिष्ट पार्टीहरु विभाजन भएपनि उनीहरु कुन विन्दुमा पुगेर सहकार्य गर्छन् भन्ने निस्चित हुँदैन । कांग्रेसले देखाउने व्यवहारले पनि कम्युनिष्टहरु (खासगरी एमालेसंग माओवादी केन्द्र र एस) मिल्ने र टाढिने हुनसक्छ । कांग्रेसले बिच्क्याउँदा कम्युनिष्टहरु मिल्ने जोखिम उत्तिकै रहन सक्छ ।

कांग्रेसका नेताहरु स्वयम पनि पार्टी भित्रको आन्तरिकक गुटका कारण निर्वाचनमा सुरक्षित रहने छैनन् । सबै कम्युनिष्ट शीर्ष नेताहरु नमिल्दा आफ्नो क्षेत्र गुम्नेमा चिन्तित रहेको बेला यसको फाइदा भने कांग्रेसले उठाउन सक्ने छ । किनकी र्शीर्ष नेताहरु (खासगरी माओवादी केन्द्र र एकीकृत समाजवादी) आफ्नो क्षेत्र जोगाउन पनि सहकार्य गर्नुपर्ने बाध्यतामा छन् ।

शीर्ष नेता जिताउने गठबन्धन भने पाँच दलीय मात्र होइन स्वयम प्रतिपक्षी दल एमाले नेतृत्वसंग पनि हुन सक्ने छ । राजनीतिमा असंभव भन्ने नै हुँदैन ।

  • २७ मंसिर २०७८, सोमबार ११:२६ प्रकाशित