एमालेलाई पुन धक्का दिने तीन घटना घटाउँँदै देउवा सरकार

केन्द्रभाग मिडिया

पोखरा । झण्डै दुई तिहाईको नेकपा एमाले नेतृत्वको सरकार अहिले प्रमुख प्रतिपक्षमा पुगेको छ । केन्द्र देखि सवै प्रदेश सरकार पनि एमालेविहीन वन्दै छन् ।

ऋव केही दिनमा नेपालको राजनीतिमा फेरि तीनवटा घटना हुँदैछन् । यी तीनवटै घटनाले प्रमुख प्रतिपक्षी दल एमालेलाई धक्का लाग्ने देखिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एक दुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिँदैछन् । त्यसअघि नै उनले मन्त्रिपरिषद् बैठक राखेर ‘राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश २०७८’ निष्क्रिय बनाउने निर्णय गर्न लागेका छन् ।

जुन प्रयोजनका लागि अध्यादेश आएको हो, त्यो पूरा भइसकेकाले अब अध्यादेश निष्क्रिय बनाउन गठबन्धन दलका शीर्ष नेताको आग्रहपछि प्रधानमन्त्री देउवाले यो निर्णय गर्न लागेका हुन् ।

दल विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुर्याए पुग्ने अध्यादेश जारी भएपछि एमाले र जसपा विभाजन भई नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी गठन भएको थियो । यस्तै, बागमती प्रदेश र प्रदेश १ सरकार ढल्ने भएको छ ।
दुवै प्रदेशमा हालै मात्र मुख्यमन्त्री परिवर्तन भएका थिए । बागमतीमा डोरमणि पौडेलको ठाउँमा अष्टलक्ष्मी शाक्य र प्रदेश १ मा शेरधन राईको ठाउँमा भीम आचार्य मुख्यमन्त्री बनेका थिए ।

तर, दुवै प्रदेशमा नेकपा एकीकृत समाजवादीसँग खुलेका सांसदले आफूहरू एमालेमा नरहेको जनाएपछि दुवै प्रदेशमा सरकार परिवर्तन हुन लागेका हुन् । शाक्य र अचार्य दुवै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग थिए ।

तर, एमाले अध्यक्ष केपी ओलीले उनीहरूलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि दुवै ओली निकट भएका थिए । बागमती प्रदेशमा राजेन्द्र पाण्डे र प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री बन्ने आन्तरिक सहमति गठबन्धन दलबीच भएको छ ।
प्रदेश १ मा एमालेका १० सांसद एकीकृत समाजवादीसँग खुलेका छन् । जसकारण आचार्य सरकार अल्पमतमा परेको हो ।

 

 

  • १३ भाद्र २०७८, आईतवार १४:४२ प्रकाशित