जोमसोम–कोरला सडकः ६ खण्ड स्तरोन्नती सकियो,चराङ–छोसेर सडकको काम चैतभित्र सक्न म्याद

केन्द्र खबर

म्याग्दी।

राष्ट्रिय गौरवको जोमसोम कोरला सडकखण्ड अन्तरगतको चराङ–छोसेर २५ किलोमिटर सडकको काम चैत महिनाभित्र सक्न म्याद दिइएको छ । सरकारले दिएको अवधिमा सो सडक निर्माण कम्पनी काममा नफर्किए ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाइने आयोजनाका प्रमुख प्रजापतिले बताए ।

झैते–चराङ १९ किलोमिटर कञ्चनजंघा लामा मोतीदान जेभी र छोसेर–कोरला १४ किलोमिटर सडक स्तरोन्नतिको जिम्मा रौताहा एपेक्स जेभी कन्ट्रक्सनले लिएका थिए।

तामाङ गौरी पार्वती कोसी एण्ड न्यौपाने जेभीले ठेक्का लिएको छैटौं खण्डको चराङ–छोसेर २५ किलोमिटर सडकमा तीन वर्षदेखि काम भएको छैन। उक्त खण्डका लागि २४ करोड रुपैयाँ बजेट विनियोजन भएकामा १५ करोड रुपैयाँमात्र खर्च भएको छ। ६५ प्रतिशत निर्माण सकिएको छ। चराङमा कुलो र ढलको काम बाँकी छ। अरू ठाउँमा कटिङ र फिनिसिङको काम हुन बाँकी छ।

लामो समयदेखि सो खण्डमा निर्माण कम्पनीले बेवास्ता गर्दै आएकाले उसको नाममा जम्मा भएको एक करोड नौ लाख रुपैयाँ मोबिलाइजेसन आयोजनाको खातामा फिर्ता ल्याएको प्रजापतिले बताए।
सो सडक खण्ड बाहेकका अन्य ६ वटा प्याकेजको ७५ किलोमिटर सडक विस्तार, पर्खाल, नाली निर्माण, घुम्ती र ग्रेड सुधार गरी ग्राभेल गर्ने काम सकिएको उनले बताए।

जोमसोम–कोरला खण्डको ६ वटा प्याकेजमा सडक स्तरोन्नति सकिएको छ, उनले भने,‘ुढिलासुस्तीले प्रभावित भएको चराङ–छोसेर खण्डलाई गति दिन निर्माण व्यवसायीलाई ताकेता गरिरहेका छौं,’।

जोमसोम–कोरला सडक स्तरोन्नतिका लागि दुई अर्ब ६ करोड बजेट विनियोजन भएको थियो।

  • २६ मंसिर २०७८, आईतवार १०:३४ प्रकाशित