सवैले मन्त्री मागेपछि माधव नेपाल तनावमा

केन्द्रभाग मिडिया

पोखरा । मन्त्री परिषद छिट्टै विस्तार गर्न सत्तारुढ गठवन्धनका शिर्ष नेताहरु सहमत भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा पनि चाँडै सरकार विस्तार गर्ने तयारीमा छन्।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पनि सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ।
तर सो पार्टीका सबैजसो सांसदले सरकारमा जाने इच्छा देखाएपछि नेता नेपाललाई अप्ठेरो परेको छ। गठबन्धनमा आबद्ध दलहरूबीचको भागबन्डाबाट प्राप्त मन्त्रालय संख्या थोरै भएकाले समस्या आएको हो। आकांक्षी धेरै र मन्त्रालय थोरै हुँदा कसरी मिलाएर लाने भन्ने गृहकार्यमा नेता नेपाल लागेका छन्।

नयाँ दल गठनमा नेपाललाई हरतरहले सहयोग गरेका नेताहरूले मन्त्री बन्ने इच्छा व्यक्त गरेका छन्।
एमालेमा अध्यक्ष केपी शर्मा ओलीको पेलानमा परेर सरकार र पार्टीमा कुनै जिम्मेवारी नपाएका नेता–कार्यकर्ता तथा सांसद अहिले नेपालको पार्टीमा छन्। उनीहरूलाई कुनै न कुनै जिम्मेवारी दिनुपर्ने बाध्यतामा नेता नेपाल छन्। तर, थोरैलाई मात्र अवसर दिन सकिने अवस्थामा पार्टी रहेको नेपाल निकट नेताहरूले बताएका छन्। नेकपा एकीकृत समाजवादीको भागमा ६ देखि ७ वटासम्म मन्त्रालय पर्ने भएपछि कसकसलाई मन्त्री बनाउने भन्ने दबाब नेता नेपालमा पर्नेछ।

नेपाल आफैं संसदीय दलका नेता हुने भएकाले खासै समस्या हुँदैन।

नेपालले नेता मुकुन्द न्यौपानेलाई तत्काल सरकारमा पठाइहाल्ने सम्भावना देखिन्छ। कल्याणीकुमारी खड्का संसदीय समितिमा रहेका कारण उनलाई त्यही नै राख्ने सोचमा नेपाल देखिन्छन्।

सांसदहरू विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्रीले पनि सरकारमा जान चाहेका छन्। सरकारमा जान चाहनेमा निरादेवी जैरु र प्रेमबहादुर आले पनि छन्। ओलीले मन्त्रीबाट हटाएपछि रुष्ट आले नेपाल समूहमा आएका हुन्।

नेपाल समूहको प्रवक्ताकै भूमिकामा रहेका मेटमणि चौधरीले पनि सरकारमा सहभागी हुने मन गरेका छन्। त्यस्तै सरला यादवले उपसभामुखमा दाबी गरिरहेकी छन्। भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन, कृष्णलाल महर्जन पनि कुनै न कुनै समितिको सभापति बन्न चाहिरहेका छन्। कृष्णकुमार श्रेष्ठले पनि मन्त्रीको दाबी गरिरहेका छन्।

कतिला खातुन, हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम, पार्वतीकुमारी विशुंखे, लक्ष्मी चौधरी, बिना बुढाथोकी, बेदुराम भुसाल, शेरबहादुर कुँवर, ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा ९पौड्याल०, सिंगबहादुर विश्वकर्मा, नन्दा चपाईं, शान्तिकुमारी अधिकारी जिसी पनि सरकार सामेल हुने आकांक्षीमा पर्छन्। नेपाल समूहमा पछि तुलसा थापा र माया ज्ञवाली पनि थपिएका छन्। थापाले पनि सरकारमा सहभागी हुने इच्छा व्यक्त गरेको स्रोतको दाबी छ। थापाका पति वामदेव गौतमले पनि केही दिनमा एमालेबाट राजीनामा दिएर एकीकृत समाजवादीमा सहभागी हुने जनाइसकेका कारण पनि थापालाई सरकारमा पठाउनुपर्ने बाध्यतामा नेता नेपाल छन्।

प्राप्त हुने मन्त्रालयहरूमा ६ जना, राष्ट्रिय सभाको प्रमुख सचेतक तथा सचेतकामा दुईजना, प्रतिनिधिसभाको प्रमुख सचेतक तथा सचेतकमा दुईजना तथा विकास समितिका सभापतिमा दुईजना गरी कम्तीमा १३ सांसदले पद पाउने निश्चित भए पनि अन्यको जिम्मेवारी कहाँ कसरी व्यवस्थापन गर्ने भन्नेबारे एकीकृत समाजवादी पार्टीका नेताहरू अलमलमा छन्।
धनबहादुर बुढा, प्रेम आले र किसान श्रेष्ठलाई सरकारमा सहभागी हुनुपर्छ भनिरहेका हुनाले उनीहरूलाई पनि समेट्नुपर्ने दायित्व नेता नेपालमा छ। किसान श्रेष्ठ तनहुँमा समाजवादी पार्टीको कार्यालयसमेत खोलेर एक कदम अगाडि बढिसकेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तारका लागि ताकेता गरिरहेको बेला सो पार्टीले सरकारमा जाने निर्णय गरिसकेकाले चाँडै नै मन्त्रिपरिषद् विस्तार हुने सम्भावना छ। सरकारमा नेपाल नेतृत्वको पार्टीलाई ६ देखि ७ मन्त्रालय दिने तयारी भएको छ। सरकारमा नेपाली कांग्रेसपछि दोस्रो प्राथमिकताका साथ एकीकृत समाजवादीलाई सहभागी गराउने बताइए पनि कति र कुनकुन मन्त्रालय भन्ने अझै तय भएको छैन।
सो पार्टीलाई सञ्चार मन्त्रालय दिएर सन्तुलन मिलाउने तयारी भइरहेको पनि जनाइएको छ। नेपाल नेतृत्वको पार्टीको बैठकले राष्ट्रिय परिषद्बाट पदाधिकारी चयन नभएसम्म अन्तरिम हाई कमान्ड गठन गरेर सरकारमा जाने निर्णय गरेको छ।

साबिक एमालेको स्थायी कमिटीमा रहेका नेताहरूलाई समेटेर हाई कमान्ड बनाइएको हो। हाई कमान्डमा नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, वेदुराम भुसाल र प्रमेश हमाल छन्। हमालबाहेक अरू एमालेको स्थायी कमिटीमा थिए।
सरकारमा जाने मन्त्रीको नाम भने यही हाई कमान्डले चयन गर्ने मुकुन्द न्यौपानेले बताए। उनका अनुसार सरकार विस्तारको तयारी भएकाले पार्टीले सहभागी हुने निर्णय गरिसकेको छ।

एकीकृत समाजवादीको चाँडै राष्ट्रिय भेला हुने र त्यसपछि राष्ट्रिय परिषद् बसेर १७ पदाधिकारीसहित पोलिटब्युरो र स्थायी कमिटी चयन गरिने जानकारी पनि उनले दिए। मन्त्रालय बाँडफाँट टुंगिएपछि सरकारमा जाने मन्त्रीहरूको नाम तय हुने न्यौपानेको भनाइ रहेको नागरिकले लेखेको छ।

 

  • १३ भाद्र २०७८, आईतवार १३:२३ प्रकाशित