प्रदेश १ मा सांसद तानातान : मुख्यमन्त्री आचार्य अप्ठ्यारोमा

केन्द्रभाग मिडिया

विराटनगर।

नेकपा एमाले विभाजन भएपछि प्रदेश १ को सत्ता राजनीतिक रोचक मोडमा पुगेको छ । एमालेमै रहने निर्णय लिएका सचिव भीम आचार्य मुख्यमन्त्री बनाइएका छन् । शेरधन राईले राजीनामा दिएर उनका लागि मार्ग खोलिदिएका हुन् । विगतमा राईसँगै एमाले संसदीय दलको नेतामा २ मतले पराजित भएर आचार्य मुख्यमन्त्री बन्न रोकिएका थिए ।

भीम आचार्य मुख्यमन्त्री भएपनि सत्ता जोगाउन सजिलो छैन । नेकपा एमाले प्रदेश १ मा स्पष्ट बहुमतमा रहेकोमा विभाजनपछि अवस्थामा परिवर्तन आएको छ ।

प्रदेश १ मा ९२ प्रदेश सभा सांसद छन् । एमालेका ५१, काँग्रेसका २१, माओवादीका १५, जसपाका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १(१ सांसद छन् । बहुमतका लागि ४७ सांसद जरुरी पर्छ । तर, नेकपा एसले ५ सांसद मात्र पक्षमा बनाए सरकार ढल्न सक्छ ।

मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य बहुमत सांसद पक्षमा सुनिश्चित बनाएर विश्वासको मत लिने तयारीमा छन् । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा अब २७ दिन बाँकी छ ।

मुख्यमन्त्री आचार्य नेकपा एसमा गएका र जान खोजेकाहरुलाई तान्न र रोक्न सक्रिय छन् । उनलाई नेकपा एसका नेता समेत रहेका प्रदेश सभा सांसद राजेन्द्रकुमार राई चुनौती बनेका छन् । राई पनि सांसद तान्न सक्रिय छन् । प्रदेशसभाका १० सांसद नेकपा एसमा आएको भन्दै बहुमत पुर्याउन आचार्य असफल हुनेमा राई ढुक्क छन् ।

प्रदेश सभा सांसद राजेन्द्रकुमार राई, खिनु लङ्बा, सावित्रीकुमारी रेग्मी, राजन राई, कृष्णकुमारी राई, गणेशकुमार काम्बाङ, सरिता थापा, उपेन्द्र घिमिरे, पदमकुमारी गुरुङ र सुनिता चौधरी नेकपा एसमा गएका छन् । उनीहरुमध्ये कम्तिमा ५ जनालाई मन्त्री दिएर भएपनि तान्ने प्रयास आचार्यले गरिरहेका छन् । राई भने सबैलाई रोकेर आचार्यको प्रयास असफल बनाउन खोजिरहेका छन् ।

नेकपा एसमा ७ जना सम्म सांसद गएपनि अन्य दलका सांसदलाई मन्त्री बनाएर भएपनि पक्षमा पार्ने आचार्यको रणनीति देखिएको छ । त्यसैले राजेन्द्र राई १० भन्दा बढी सांसद पक्षमा बनाउन लागिपरेका छन् । त्यस्तो अवस्थामा जसपा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपासहित ५ सांसद यताउता हुँदा पनि बहुमत पुर्याउन कठिन हुनसक्छ ।

  • १२ भाद्र २०७८, शनिबार १७:३५ प्रकाशित