७७ वटै जिल्लामा एकै साथ वडा अधिवेशन गर्न पौडेल पक्षको माग

केन्द्रभाग मिडिया

पोखरा । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गर्दै आएको समूहले ७७ वटै जिल्लामा एकसाथ वडा अधिवेशन गर्न माग गरेको छ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा शुक्रबार बसेको बैठकले भदौ १८ गते हुन गइरहेको वडा अधिवेशन ७७ वटै जिल्लामा गर्न माग गरेको हो।

केन्द्रीय निर्वाचन समितिले ३८ जिल्लाहरुमा निर्वाचन अधिकृत तोकेपछि आंशिक रुपमा मात्रै पार्टीले वडा अधिवेशन गर्ने कुराले पौडेल समूह सशंकित देखिएको छ।

पौडेल समूहले ७७ वटै जिल्लामा एकसाथ वडा अधिवेशन सुरु गर्नुपर्ने भन्दै शुक्रबार नै प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई भेट्ने भएको छ।

‘बैठकले ७७ वटै जिल्लामा एकसाथ वडा अधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ,’ बैठकमा सहभागी पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले भने, ‘यसै विषयमा छलफल गर्न सभापतिजीसँग हामी भेट्दै छौं।’

उनले बैठकमा क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्न सभापति देउवालाई दबाब दिने निष्कर्ष पनि निकालिएको बताए।
यसअघि भदौ ९ गते चाक्सीबारीमै बसेको उक्त समूहको बैठकले पार्टीको विधानसँग बाझिनेगरी तयार गरिएको निर्वाचन निर्देशिका स्वीकार्य नहुने निष्कर्ष निकालेको थियो।

बैठकले ७७ वटै जिल्लामा एकसाथ अधिवेशन सुरु गरिनुपर्ने र आशिंक रुपमा क्रियाशील सदस्यहरुको नामावली स्वीकार नगर्न निर्वाचन समितिलाई आग्रह गरेको थियो।

तर, समितिले बिहीबारमात्रै ३८ जिल्लाको क्रियाशील सदस्यताको नामावली बुझेर ती जिल्लाहरुका निर्वाचन अधिकृतहरुसमेत खटाइसकेको छ।

चाक्सीबारी बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वसहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी, डा। रामशरण महत, नेताहरु बलबहादुर केसी, डा. शेखर कोइराला, दिलेन्द्रप्रसाद बडू र डा. मिनेन्द्र रिजाल सहभागी थिए।

 

  • ११ भाद्र २०७८, शुक्रबार १३:३७ प्रकाशित