एमालेको विभाजनपछि सत्तारुढ गठवन्धनभित्र मन्त्रालयको भागवण्डा मिल्यो

केन्द्रभाग मिडिया

पोखरा । औपचारिक रुपमा एमालेको विभाजनपछि सत्तारुढ गठवन्धन भित्र मन्त्रालयको भागवण्डामा टुँगो लागेको छ । मन्त्रिपरिषद् विस्तार भने जसपाका कारण भदौ १३ पछि घकेलिएको छ ।

सत्तारुढ गठबन्धनमा सम्वद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच मन्त्रालयको संख्यात्मक भागबण्डा मिलेको छ ।

एमालेबाट औपचारिकरुपमा बाहिरिएका माधव नेपालले बुधबार नयाँ दल दर्ता गराएपछि एकीकृत समाजवादीलाई सरकारमा जाने बाटो खुलेको छ ।

गठबन्धन दलबीच भएको सहमति अनुसार नेकपा एमाले विभाजन भई माधव नेपालको नेतृत्वमा गठित एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने भएको छ ।

माधव नेपाललाई स्थान दिँदा काँग्रेसले ३, माओवादीले २ र जसपाले १ मन्त्री गुमाउनुपर्नेछ । किनभने, नेपाल पक्ष सरकारमा सहभागी नभएको अवस्थामा काँग्रेसले प्रधानमन्त्रीसहित ९ मन्त्री र १ राज्य मन्त्री पाउने सहमति भएको थियो । यस्तै माओवादीले सात मन्त्री र एक राज्यमन्त्री तथा जसपाले ६ मन्त्री र एक राज्यमन्त्री पाउने गठबन्धनमा सहमति जुटेको थियो ।

२५ सदस्यीय मन्त्रीमण्डलमा नयाँ सहमति अनुसार काँग्रेसबाट प्रधानमन्त्रीसहित ७ जना सरकारमा सहभागी हुने अवस्था छ । यस्तै माओवादी, एकीकृत समाजवादी र जसपाले ५–५ मन्त्री र १–१ राज्यमन्त्री पाउने सहमति भएको स्रोतले केन्द्र खवरलाई जानकारी दिइएको छ ।

माधव नेपाल समूहले नयाँ पार्टी बनाएर सरकारमा सहभागी हुने भएपछि विगतमा काँग्रेस, माओवादी र जसपाबीच भएको भागबण्डामा हेरफेर भएको छ ।
एमालेमा तत्कालीन माधव नेपाल समूहले पार्टी एकता हुँदा सरकारमा सहभागी हुने अवस्था थिएन । माधव नेपाल एमालेमै रहेको अवस्थामा उनलाई राजनीतिक नियुक्तिमा प्रमुख प्राथमिकता दिएर गठबन्धनलाई लगाएको गुन तिर्ने सरकारको तयारी थियो ।

स्रोतका अनुसार संख्यामा सहमति जुटे पनि मन्त्रालयगत भागबण्डा भने अझै मिलिसकेको बुझिएको छैन । काँग्रेसले गृह र माओवादीले अर्थ मन्त्रालय लिइसकेको छ । अब भौतिक पूर्वाधार र सहरी विकासमा एकीकृत समाजवादी र जसपा पाउनेछन् ।

तर, कसले कुन मन्त्रालय पाउने भन्नेमा टुंगोमा पुगि नसकेको वताइएको छ। माधव नेपालले रोजेको मन्त्रालयमा आफूहरुले अड्डी नलिने जसपा स्रोतको भनाइ छ ।
काँग्रेसले राज्य मन्त्री नपाउने भएकाले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री देउवाले मन्त्रीमा बढुवा गर्छन् वा बिदा भन्ने एकीन भएको छैन ।

केही दिनअघि बालुवाटारमा डा। गोविन्द केसीसँग राज्यमन्त्री श्रेष्ठलाई उपयुक्त समयमा विदा गर्ने बताएका थिए । तर, श्रेष्ठलाई राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा गर्ने सम्भावना रहेको बालुवाटार स्रोतले बतायो । कोरोनाविरुद्धको खोप खरिद लगायतमा श्रेष्ठले राम्रो काम गरेको भन्दै तत्काल उनलाई हटाउने पक्षमा प्रधानमन्त्री नरहेको स्रोतको भनाइ छ ।

२९ मा सरकारको नेतृत्व गरेका काँग्रेस सभापति शेरबहादुर देउवाले भदौ १४ मा मात्र मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् ।
२९ गते काँग्रेस र माओवादीबाट दुई–दुई मन्त्री बनाएका साउन १० मा एकजना राज्यमन्त्री नियुक्त गरेका थिए । करिब साढे १ महिनादेखि प्रधानमन्त्री देउवाले ५ जना मन्त्रीको भरमा सरकार सञ्चालन गरिरहेको अवस्था छ ।

गठबन्धनमा सामेल माधव नेपाल र उपेन्द्र यादवको पार्टीगत लफडाले देउवाले मन्त्रिमण्डललाई पूर्णता दिन सकेका थिएनन् ।
साउन ११ गते उपेन्द्र यादवको पार्टीगत लफडा सकिएको थियो । तर माधव नेपाललाई नयाँ दल दर्ताका लागि सरकारले एक महिना थप कुर्यो ।
बुधबार माधव नेपालको पार्टी पनि दर्ता भएपछि तत्काल मन्त्रिपरिषद विस्तार हुने अपेक्षा थियो । तर, उपेन्द्र यादवले भदौ १४ गतेसम्म मन्त्रिमण्डल विस्तार रोकिदिन आग्रह गरेको खुलेको छ ।

भदौ ७ गते अपरान्ह ४ बजे प्रधानमन्त्रीको निवास बालुवाटार पुगेर यादवले आफ्नो पार्टीको अभिमुखीकरण कार्यक्रमसम्म मन्त्रिमण्डल विस्तार नगर्न देउवालाई आग्रह गरेका थिए । भदौ ११ गते मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका देउवालाई यादवले तीन दिनको समय मागेका थिए ।

। भदौ ९ गतेबाट जसपाले सातै प्रदेशमा केन्द्रीय तहको अभिमुखीकरण कार्यक्रम गरिरहको छ । मन्त्री छनोटको जिम्मेवारी पाएका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राई कार्यक्रमका लागि उपत्यका बाहिरै छन् ।

उनीहरु सातै प्रदेशको अभिमुखीकरण सकेर १३ गते मात्र काठमाडौं फर्किने कार्यक्रम छ । त्यसपछि मात्र मन्त्रिमण्डलले पूर्णता पाउने बालुवाटार स्रोतले बतायो ।

 

 

  • १० भाद्र २०७८, बिहीबार १४:०८ प्रकाशित