एमाले फुटाउन साँसदहरुलाई घर घरवाट थुतेर चन्द्रागिरीमा लगेर थुनियो–ओली

केन्द्रभाग मिडिया

पोखरा ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षले एमाले फुटाउन साँसदहरुलाई घर घरवाट थुतेर चन्द्रागिरीमा लगेर थुनियो आरोप लगाएका छन् ।

वुधबार पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले बलजफ्ती, अपहरणकारी र ज्यादतीपूर्ण ढंगले एमालेका सांसदहरुलाई चन्द्रागिरीमा लगेर थुनेर राखेको बताएका हुन् ।

सांसदहरु जस्ता मान्छेलाई थुनेर । फकाइ फकाइ लगेर, राम्रै विस्तारामा सुताएर, राम्रै खान दिएर मान्छे घर घरबाट तानेर थुनियो’ ओलीको आरोप छ ।

उनले रिसोर्ट वा चाहे फाइभस्टारमा होटलमै राखेको भएपनि ‘त्यो सांसदहरुलाई थुनिएकै हो’ भनेर दावी गरे ।ओलीले त्यसरी सांसदहरुलाई थुनेर राख्दा पनि बैठक भनेर सञ्चारमाध्यमहरुले प्रचार गरेको भन्दै वास्तवमा त्यो कुनै पार्टी कमिटीको बैठक नभएको दावी गरे ।

अध्यक्ष ओलीले सभामुखको भूमिकामाथि प्रश्न उठाएका छन् । नेकपा एमालेले कारवाही गरेका १४ सांसदलाई पदमुक्त गर्ने सन्दर्भमा सभामुखले सूचना टाँस नगरेको भन्दै उनले चर्को विरोध गरे ।

पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अध्यादेश अनुसार एमाले विभाजन गराउने प्रयोजनकै निम्ति यस प्रकारको गतिविधि भएको आरोप लगाए ।

आफूहरुले पार्टी नफुटोस् भनेर १४ सांसदलाई कारवाही गरेको तर कारवाहीमा परेका ती सांसद लगायतको संख्या जोडेर अध्यादेशअनुसार दल विभाजन गराउनका लागि नै सभामुखबाट उनीहरु पदमुक्त भएको सूचना जारी नगरिएको उनको आरोप छ ।

‘लेखराज भट्टजीहरुलाई कारवाही गर्दा माओवादीको केन्द्रीय कमिटीले निर्णय गरेको होइन,’ सभामुखतिर लक्षित गर्दै उनले भने, ‘नेकपा एमालेले गरेको कारवाही ९ दिनसम्म थन्क्याएर दाँत टाल्न जानुभयो । मेरो शुभकामना छ, दाँत राम्रोसँग टालियोस् ।’ यसअघि भक्तपुरमा आयोजित पार्टीको कार्यक्रममा पनि ओली सभामुखमाथि खनिएका थिए ।

 

निर्वाचन आयोगले संसद सचिवालयसँग १४ जनाको बारेमा जानकारी माग्दा ‘विचाराधीन रहेको’ भनेर आयोगलाई जवाफ दिइएको सन्दर्भमा पनि उनले आजको पत्रकार सम्मेलनमा आपत्ति जनाए । ओलीले भने, ‘उहाँ ९सभामुख०लाई संविधानले त्यो अधिकार दिँदैन । उहाँले त्यो जानकारी पाएपछि संसद छ भने सुनाउने, संसद छैन भने सूचनापाटीमा टाँस्ने ।’

उनले सभामुखको भूमिका निष्पक्ष रहन नसकेको बताए । ‘सम्माननीय सभामुखजी साझा व्यक्तित्व, निष्पक्ष रहनुपर्नेमा उहाँ त्यो रहन सक्नुभएन,’ उनले भने, ‘सभामुखको जिम्मेवारीमा निष्पक्ष रहन नसक्ने, कानुनको पालना गर्न नसक्ने, मर्यादामा बस्न नसक्ने कुरा लोकतन्त्र, लोकतान्त्रिक प्रणालीका लागि अत्यन्त दुःखद् कुरा हो ।’

पार्टीले कारवाही भएको जानकारी गराइसक्दा पनि ती सांसदलाई पदमुक्त नगर्नु बेइमानी भएको ओलीको भनाइ छ ।
उनले निर्वाचन आयोगलाई पनि सशरीर उपस्थित नभएको व्यक्तिहरुलाई सनाखत प्रक्रियामा सामेल नगर्न सुझाव दिए । ‘अनुपस्थित भएकालाई गणना गर्न मिल्दैन । निर्वाचन आयोगले एसएमएस, इमेलका भोट प्रयोग गर्न मिल्दैन । आयोगका प्रतिनिधि नभएका ठाउँबाट गरिएका भोट मान्य हुन सक्दैन,’ उनले भने ।

  • ९ भाद्र २०७८, बुधबार १४:०८ प्रकाशित