काँग्रेस सँस्थापन ईतर समूहले निर्वाचन निर्देशिका स्वीकार नगर्ने

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको विधानसँग बाझिनेगरी तयार गरिएको निर्वाचन निर्देशिका स्वीकार्य नगर्ने भएको छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा बुधबार बसेको संस्थापन इतर समूहको बैठकले जिल्ला सभापतिका हकमा विधानले गरेको व्यवस्थाविपरीत तयार गरिएको निर्वाचन निर्देशिका स्वीकार्य नहुने निष्कर्ष निकालेको हो।

‘पार्टीले विधानसँग बाझिनेगरी आसन्न अधिवेशनमा जिल्ला सभापतिको उम्मेदवार बन्नका लागि दोहोरो मापदण्ड बनाएको छ,’ चाक्सीबारी बैठकमा सहभागी पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले भने, ‘हामीले विधानअनुसार नै अधिवेशन हुनपर्नेमा जोड दिने निष्कर्ष निकाल्यौं।’

कांग्रेसको विधानको दफा १२ को उपदफा ५ (क) को ९१०, (२) र (३) मा जिल्ला सभापति निर्वाचित हुने मापदण्ड उल्लेख छ। जसमा एक मात्रै प्रनिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला वा एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लाका लागि समान व्यवस्था गरिएको छ।

उपदफा ५ (क) को (१) भनिएको छ, ‘जिल्ला अधिवेशनले कम्तीमा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट जिल्ला सभापतिको निर्वाचन गर्नेछ।’

तर निर्वाचन निर्देशिकामा एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा क्षेत्रीय प्रतिनिधि नै सभापतिको उम्मेदवार हुन सक्ने प्रावधान राखिएको छ। यो प्रावधानमा इतर समूह सहमत देखिँदैन।

महाधिवेशन प्रतिनिधि नै नभई जिल्ला सभापतिको उम्मेदवार हुन पाउने व्यवस्था खारेज गरिनुपर्ने माग गर्दै इतर समूहमा रहेका जिल्ला सभापतिहरू मंगलबारदेखि आन्दोलनमै उत्रिएका छन्।

पार्टीले तयार गरेको निर्वाचन निर्देशिकाअनुसार एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा सभापति पदमा विजयी हुने नेता महासमिति सदस्य हुन नपाउने भएपछि इतर समूहका सभापतिहरू विरोधमा उत्रिएका हुन्।

चाक्सीबारी बैठकले ७७ वटै जिल्लामा एकसाथ अधिवेशन सुरु गरिनुपर्ने पनि माग गरेको छ।

‘आंशिक रूपमा अधिवेशन सुरु गर्ने कुरो आएको छ,’ नेता केसीले नेपालखबरसँग भने, ‘यसले हाम्रो परम्परा र मानयतामा असर गर्छ। यसकारण ७७ वटै जिल्लाहरूमा एकसाथ वडा अधिवेशन गरिनुपर्छ भन्ने हाम्रो माग हो।’

बैठकले जिल्ला सभापतिहरूको माग सम्बोधन गर्न पनि माग गरेको छ।

  • ९ भाद्र २०७८, बुधबार १३:१४ प्रकाशित