कांग्रेसले क्रियाशील सदस्यता दिनका लागि जिल्लामा पठाएको नामावली वाहेकका नामहरु ह्टाइने

केन्द्रभाग मिडिया

पोखरा । नेपाली कांग्रेसले केन्द्रबाट प्रक्रिया पुर्‍याएर क्रियाशील सदस्यता दिनका लागि जिल्लामा पठाएको नामावली बाहेकका नामहरू हटाउने भएको छ।

कांग्रेसले उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित समायोजन समितिले प्रक्रिया पुर्‍याएर क्रियाशील सदस्यता दिनका लागि जिल्लामा पठाएको नामावली बाहेकका नामहरू हटाउने भएको हो।

क्रियाशील सदस्यता विवाद समाधानका लागि गठित कार्यदलले सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा ‘समायोजन समितिले केन्द्रबाट प्रक्रिया पुर्‍याई क्रियाशील सदस्यता दिन जिल्लामा पठाएको नामावलीमा नाम परिवर्तन गरेको भए त्यस्तो नाम हटाउने’ उल्लेख गरिएको छ।

प्रतिवेदनमा ‘कुनै पनि वडामा १३ औँ महाधिवेशनको क्रियाशील सदस्य संख्याभन्दा समायोजनको क्रियाशील सदस्य संख्या बढी भएमा बढी भएजति १४ औँ महाधिवेशनका लागि स्थगित गरी १४ औँ महाधिवेशन पछि प्रक्रिया पुर्‍याई सदस्यता दिने’ पनि भनिएको छ।
कार्यदलले केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएअनुसार नवीकरण र नयाँ क्रियाशील सदस्यता कार्यान्वयन गर्ने पनि निर्णय गरेको छ।

‘१४ औँ महाधिवेशनको लागि स्थगन गर्ने भनि गरेको निर्णयलाई मान्यता दिने,’ प्रतिवेदनमा भनिएको छ, ‘नवीकरणमा कुनै विवाद देखिए विगत महाधिवेशनको क्रियाशील सदस्यताको प्रमाणलाई आधार मानेर कार्यान्वयन गर्ने।’

गत साउन ३० गते बसेको केन्द्रीय कार्यसमितिले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्यद्वय डा मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको कार्यदल गठन गरेको थियो।

उक्त कार्यदलले सोमबार राति सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेर प्रतिवेदन बुझाएको हो। कार्यदललाई भदौ ३ गतेभित्र विवाद समाधान गर्न भनिएको थियो।

  • ८ भाद्र २०७८, मंगलवार १६:५४ प्रकाशित