माधव नेपाल पक्षमा लागेका नेताहरु आठ महीनापछि एमालेको वैठकमा

केन्द्रभाग मिडिया

पोखरा । तत्कालीन नेकपा विभाजित हुने क्रममा माधव नेपाल पक्षमा लागेका १० नेताहरु आठ महिनापछि एमालेको आधिकारिक बैठकमा फर्किएका छन्।

२०७७ पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विभाजित नेकपाको नेपाल(पुष्पकमल दाहाल प्रचण्ड पक्षमा लागेका उनीहरु आठ महिनापछि एमाले बैठकमा सहभागी हुन पुगेका हुन्।

तत्कालीन अवस्थामा नेकपाको दाहाल(नेपाल समूहले ओलीलाई पार्टी अध्यक्ष र साधारण सदस्यबाटै हटाएको थियो। त्यही बेलादेखि ओलीको विरुद्धमा उभिएका भीम रावलदेखि रघुजी पन्तसम्म आजको बैठकमा भाग लिन पुगेका हुन्।

ओलीलाई निष्कासित गर्ने निर्णय आठ महिना पुगेको भोलिपल्ट उनीहरु एमाले बैठकमा पुगेका हुन्। सर्वोच्च अदालतले २०७७ फागुन २३ गते तत्कालीन नेकपा खारेज गरिदिएर साविककै एमाले र माओवादी ब्यूँताइदिएपछि पनि उनीहरु नेपाल पक्षमा थिए।

तर नेपालले एमाले फुटाएर नयाँ पार्टी खोल्ने निर्णयमा असहमति जनाएका उनीहरू असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयन गर्न ओली तयार भएपछि बैठकमा भाग लिन पुगेका हुन्।

यसअघि एमालेमा देखिएको विवादका क्रममा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा लागेका सबै नौ नेता सोमबार अध्यक्ष केपी शर्मा ओलीसँग भएको सहमति अनुसार बैठकमा सहभागी हुन पुगेका छन्।

बैठकमा भाग लिन उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य पनि पुगेकी छन्।
त्यस्तै उपमहासचिव घनश्याम भुसाल पनि बैठकमा सहभागी हुन पुगेका छन्। त्यस्तै सचिवहरु भीम आचार्य, योगेशकुमार भट्टराई, गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त पनि लामो समयपछि एमाले बैठकमा भाग लिन पुगेका छन्।

सोमबार बालकोटमा भएको अनौपचारिक बैठकमा अध्यक्ष ओली पार्टी कमिटीलाई २०७५ जेठ २ कै अवस्थामा माथिदेखि तलैसम्म ब्यूँताउन तयार भएका थिए।

  • ८ भाद्र २०७८, मंगलवार १६:३७ प्रकाशित