महेन्द्रपुलमा सडक भासियो, यस कारण भासिने गर्छ पोखरामा जमिन

केन्द्रभाग मिडिया

निमदत्त सुवेदी
पोखरा, ६ भदौ
पोखराको मुख्य बजार महेन्द्र पुलमा सडक भासिएको छ । महेन्द्रपुल र पालिखेचोक (साँघुको मुख) बीचको भागमा सडक भासिएको हो । भासिएको भागलाई तत्काल पुर्न र थप क्षेती हुन नदिन स्थानीयले आग्रह गरेका छन् ।

पालिखे चोकका स्थानीय समेत रहेका पोखरा उपत्यका नगरविकास समितिका पूर्व अध्यक्ष आशोक पालिखेले तत्काल भासिएको भाग नपुरिए थप क्षेती हुनेभन्दै पुर्न आग्रह गरिएको बताए । ‘हिजो साँझ सडक भासिएको हो । अहिले पनि पानी पर्नेक्रम जारी छ । त्यो भाग तत्काल नपुर्ने हो भने, अझै भासिएर नजिकका घरहरुसमेत जोखिममा पर्न सक्छन् । त्यसैले तत्काल पर्नुपर्छ’ उनले भने ।

पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रामराज लामिछाने जाइकासंगको समन्वयमा भासिएको भाग पुर्ने जानकारी दिए । अहिले भासिएको भागमा नयाँ खानेपानी आयोजना अन्तर्गत जाइकाले पाइपलाईन पुरेको क्षेत्र भएकाले प्राविधिक रुपमा समेत सल्लाह गर्नुपर्ने भएकाले आफूले चाहँदैमा तत्काल पुर्ने अवस्था नरहेको उनले जानकारी दिए । ‘त्यहाँ खानेपानीको पाइप पुरिएको हुँदा त्यसको अवस्था पनि हेर्नुपर्छ । सक्दो छिटो आयोजनाले उक्त स्थान पुर्ने प्रतिवद्धता जनाएको छ,’ उनले भने । पोखराका विभिन्न ठाउँमा यस अगाडि पनि यसरी भासिने गरेको छ ।

पोखरा देशकै सबैभन्दा धेरै पानी पर्ने सहर हो । वरिष्ट भूगर्भविद श्रीकमल द्विवेदीका अनुसार यहाँको जमिन अहिले मेलम्चीमा आएको बाढी जस्तै माछापूच्छ«े क्षेत्रबाट सेतीमा आएको बाढीका कारण बनेको हो । पोखरा त्यसरी आएको चुनढुंगाले बनेको गेग्रान जमेर बनेको उनले बताए ।

हिजो पातलो बस्ती हुँदा ठिकै भएपनि अहिले तीब्र सहरीकरण भएको छ । त्यस अनुरुपको व्यवस्थित ढल निकास छैन । ढल निकास नहुँदा थोरै पानी छिर्ने ठाउँ भयो भने त्यहीँबाट थप खोलिने चुनयुक्त जमिन पग्लने द्विवेदी बताउँछन् ।  पोखराको अहिले भ्वान परेको ठाउँमा जाइकाको खानेपानी परियोजना अन्तर्गत पाईप विच्छ्याइएको ठाउँ हो ।

पाइप विच्छ्याइएको ठाउँबाट नै पानी छिरेकाले भ्वान परेको हुनसक्ने भूगर्भविद् द्विवेदीको अनुमान छ । ‘पोखरामा उपयुक्त ढल निकास हुन सकेको छैन । धेरै पानी जथाभावी बग्न दिनुहुँदैन भनेर यस अगाडि नै विभिन्न समयमा मैले भन्दै आएको छु । त्यहाँको सेती डिलभिर र त्यसको नजिकको भाग, पाताले छाँगो लगायतका स्थल वरपर जोखिम रहेको विभिन्न अध्ययनले देखाएका छन् ।’ उनले भने, ‘अबपनि एउटा गहिरो अध्ययनको खाँचो मैले देख्छु । त्यो अध्ययन अनुरुप पोखराको ढल निकास कस्नो हुनुपर्छ, कुन कुन क्षेत्र जोखिम भन्ने निर्कोल गर्नुपर्ने देख्छु । जोखिम कम गर्ने उपाएको खोजी गर्न ढिलाई हुनुहुन्न ।’

 

 

  • ७ भाद्र २०७८, सोमबार १६:४५ प्रकाशित