सभामुखलाई एमालेका सांसदहरुले धम्कीपूर्ण अभिव्यक्ति दिएकोमा सत्ता साझेदार दलहरुको आपत्ती

केन्द्रभाग मिडिया

पोखरा ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमालेका सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटालाई लक्षित गर्दै धम्कीपूर्ण अभिव्यक्ति दिएकोमा सत्तारूढ गठबन्धनले विरोध गरेको छ।

संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरूद्ध हुने गरी सभामुखलाई भदौ ३ र ४ मा एमाले सांसदहरूले संघीय संसद सचिवालय सिंहदरबारमा र अध्यक्ष ओलीले मिडियामार्फत् अभिव्यक्ति दिएकोमा सत्ता गठबन्धनले आपत्ति जनाएका हुन्।

सोमबार विज्ञप्ति निकालेर नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका प्रमख सचेतक देवप्रसाद गुरूङ, जसपाका प्रदीप यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र सांसद जीवनराम श्रेष्ठले एमालेले धम्कीपूर्ण अभिव्यक्ति दिएकोमा विरोध गरेका छन्।
उनीहरूले एमालेलाई संवैधानिक मर्यादाको अबलम्वन गर्न पनि आग्रह गरेका छन्।

एमाले अध्यक्ष ओलीले माधव नेपाल पक्षीय १४ सांसदहरुलाई कारवाही गर्न ढिलाइ गरेको प्रति आक्रोश पोख्नुहुँदै “सभामुखलाई संसद चलाउनु छैन ?” भन्ने प्रश्न गरेका थिए ।

ओलीको यो भनाइप्रति विरोध जनाउँदै सत्ता साझेदार दलहरु नेपाली काँग्रेसको तर्फबाट सचेतक पुष्पा भुषाल, नेकपा माओवादी केन्द्रका तर्फबाट प्रमुख सचेतक देवप्रसाद गुरुङ, जसपाका तर्फबाट सांसद प्रदिप यादव, राष्ट्रिय जनमोर्चाको तर्फबाट दलकी नेता दुर्गा पौडेल र माधवकुमार नेपाल पक्षीय सांसदहरुको तर्फबाट जीवनराम श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

एमालेका १४ जना सांसदहरूलाई कारवाही गर्ने सन्दर्भमा सभामुखले ढिला गरेको भन्दै एमाले सांसदहरूले सभामुखको कार्यकक्ष घेराउ गरेका थिए भने अध्यक्ष केपी शर्मा ओलीले सभामुखको भूमिकामाथि टिप्पणी गरेका थिए । विज्ञप्ति जारी गर्नुअघि सत्तारुढ दल आवद्ध सांसदहरूको बैठक सिंहदरबारमा बसेको थियो ।

  • ७ भाद्र २०७८, सोमबार १४:४२ प्रकाशित