माधव नेपालसंग सत्ता सहकार्यका लागि कुरेको गठवन्धन सरकार महन्थलाई भने वेवास्ता

केन्द्रभाग मिडिया

पोखरा । माधवकुमार नेपालसँग सत्ता सहकार्यका लागि कुरेर बसेको गठबन्धन सरकारले आफैँलाई विश्वासको मत दिएको महन्थ ठाकुरलाई भने बेवास्ता गरिरहेको छ।

प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीलाई कुरेर सरकारले मन्त्रिपरिषद् विस्तारमै ढिलाइ गरिरहेको छ।

तर, संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग सत्ता साझेदारीका लागि छलफल समेत सुरु गरेको छैन।

सत्ता साझेदारीका बारेमा महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोसपासँग कुनै छलफल नभएको प्रधानमन्त्री शेरबहादुर देउवानिकट स्रोतले पुष्टि गरेको छ।

माधव नेपालजीको दल औपचारिक दर्ता कुरेका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको हो,’ स्रोतले भने, ‘महन्थजीहरुसँग सत्ता सहकार्यका लागि अहिलेसम्म कुनै छलफल भएको छैन।’

लोसपाका नेताहरुले पनि सत्ता साझेदारीका बारेमा सरकारसँग र आन्तरिक रुपमा पनि कुनै छलफल नभएको दाबी गरेका छन्। नेता लक्ष्मणलाल कर्णले सरकारमा जाने÷नजाने बारेमा कुनै छलफल नचलेको प्रतिक्रिया दिए।

‘सरकारमा जाने÷नजाने बारे केही छलफल नै चलेको छैन,’ उनले भने, ‘हाम्रो पार्टी दर्ता भएको छैन। दर्ता भइसकेपछि यसबारे छलफल गर्छौं।’
महन्थ समूहमै रहेका नेता केशव झाले पनि सरकारमा सहभागी हुनेबारे पार्टीभित्र र सरकारसँग कुनै छलफल नभएको बताए। सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए आफूहरु सरकारमा जाने उनको भनाइ छ।

‘अहिले नै केही छलफल भएको छैन। माग सम्बोधन भएपछि सरकारमा जान सकिन्छ,’ नेता झाले भने, ‘न्यूनतम साझा कार्यक्रममा पनि हाम्रा मुद्दाहरु समेटिएका छन्। त्यसले पनि सहकार्यको सम्भावना देखिन्छ।’

जनता समाजवादी पार्टी (जसपा) बाट फुटेर गएको समूहलाई निर्वाचन आयोगले सनाखतका लागि आगामी बुधबार बोलाएको छ। सनाखतपछि उक्त समूहलाई दल दर्ता गरेर प्रमाणपत्र दिइने बताइएको छ।

नयाँ दल दर्ताका लागि गत बुधबार दिउँसो आयोगको कार्यालय पुगेका प्रस्तावित लोसपाका नेताहरुले आफूहरुले अघि सारेका मुद्दाहरु पुरा गर्न सरकारसँग सहकार्यको आवश्यकता रहेको बताएका थिए।

‘हामीले अघिल्लो सरकार (केपी ओली)लाई पनि माग, मुद्दा पुरा गर्ने सर्तमा सहयोग गरेका हौँ,’ नेता शरतसिंह भण्डारीले भनेका थिए, ‘प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले पनि हाम्रो मुद्दा सम्बोधन गर्नुपर्छ। त्यही भएर सरकारसँग बृहत् रुपमा सहकार्यको बाटो खुलेको छ।’

तर, नयाँ पार्टी गठनको औपचारिक निर्णय नभएसम्म सरकारसँग सहकार्य नहुने उनको भनाइ थियो। गत साउन ३ गते देउवाले प्रधानमन्त्रीका रुपमा संघीय प्रतिनिधसभा बैठकमा विश्वासको मत लिँदा महन्थ समूहले पनि विश्वासको मत दिएको थियो।

उक्त समूहमा अहिले १३ जना प्रतिनिधिसभा सदस्य छन्। जसमध्ये एक जना (रेशम चौधरी) निलम्बनमा परेका छन्। महन्थ समूहको तत्कालीन दल राष्ट्रिय जनता पार्टी (राजपा )र समाजवादी पार्टी (सपा) बीच एकीकृत हुँदा यो समूहसँग १७ जना प्रतिनिधिसभा र दुई जना राष्ट्रियसभा सदस्य थिए।

तत्कालीन राजपाका तर्फबाट संघीय सांसद रहेका महेन्द्र राय यादव, प्रमोद शाह, राजकिशोर यादव, अमृता अग्रहरी, नरमाया ढकाल र रानी मण्डल उपेन्द्र यादव नेतृत्वको जसपामा गएका छन्। यस्तै तत्कालीन सपाका तर्फबाट संघीय सांसद रहेका विमल श्रीवास्तव, उमाशंकर अरगरिया र कलुदेवी विश्वकर्मा प्रस्तावित लोसपामा गएका छन्।

 

  • ७ भाद्र २०७८, सोमबार १२:५१ प्रकाशित