जेसीज सप्ताहमा उद्घोषणकला देखि मन्दिरमा सहयोगसम्मका कार्यक्रम

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा लेडी जेसीजको आयोजनामा पोखरामा सुरु जेसीस सप्ताहमा उद्घाषणकला तालिम देखि मन्दिरहरुमा सहयोग प्रदान सम्मका कार्यक्रम हुने भएका छन् ।

साप्ताह व्यापीरुपमा हुने कार्यक्रममा शुक्रबार पहिलो दिन पहिलो प्रभावकारी भाषण कला तालिम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नंं ३ को सहकार्यमा तालिम आयोजना गरिएको हो । कार्यक्रमको शुभारम्भ अडाध्यक्ष रबीन्द्रबहादुर प्रजुले गरेका हुन् ।

वडाध्यक्ष प्रजुले तालिमले महिला सशक्तिकरणमा सहयोग पुग्ने बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ सहयोग गर्ने प्रतिबद्धता जनाए । आफ्ना सदस्यहरुको व्यक्तित्व र नेतृत्व विकास गर्दै सक्षम र सबल नागरिक बनाउने उद्धेश्यले गरिएको तालिमको प्रमिला सुवेदीले संयोजन गरेकी थिइन् ।

तालिममा स्थानीय विभिन्न आमा समूहका महिला दिदी बहिनीहरु सहभागी भएका थिए । तालिममा मोटिभेटर स्पिकर उपेन्द्र अधिकारीले प्रमुख प्रशिक्षकका रुपमा सहजीकरण गरेका थिए । कार्यक्रमकी मूल संयोजक तथा पोखरा लेडी जेसीजकी उपाध्यक्ष लक्ष्मी कुँवरले कार्यक्रमको उद्धेश्यबारे प्रकाश पारेकी थिइन् ।

दोश्रो दिन विद्यालयस्तरीय वक्तृत्वकला आयोजना गरिएको छ । कार्यक्रममा १५ जना विद्यार्थी सहभागी गराइने कार्यक्रम मूल संयोजक कुँवरले जानकारी दिइन् । पोखरा ४ गैह्रापाटनस्थित पश्चिमाञ्चल स्कूलमा कार्यक्रम हुनेछ । यो कार्यक्रमका लागि सम्झना बस्नेतलाई संयोजक तोकिएको छ ।

तेश्रो दिनको कार्यक्रम अन्तर्गत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी कुरुवालाई कुर्ची तथा अन्य सामग्री वितरण गरिने भएको छ । यो कार्यक्रमका लागि विनिता सुवेदीलाई संयोजक तोकिएको छ ।

चौथो दिन सकारात्मक सोंच तथा जीवन परिवर्तन तालिम आयोजना गरिएको छ । युवा तथा महिला व्यवसायीका लागि लक्षित गरिएको यो कार्यक्रमका लागि गीता ढुंगानालाई संयोजक तोकिएको छ । कार्यक्रम जाल्पा आमा समूहको सहकार्यमा साइमन पार्टी प्यालेसमा हुनेछ ।
कार्यक्रम अन्तर्गत पाचौं दिन भलामस्थित भलाम आधारभूत विद्यालयमा खाद्यान्न तथा अतिआवश्यक सामग्री वितरण गरिने भएको छ । यस कार्यक्रमका लागि शुभद्रा बराललाई संयोजक तोकिएको छ ।

यस्तै, छैठौं दिन मन्टेसरीस्तरीय चित्रकला प्रतियोगिता हुँदैछ । हिमालयन रिडर्स कर्नरकै सहकार्यमा हिमालयन रिडर्स कर्नरमै कार्यक्रम आयोजना गरिएको र रीना पौडेललाई संयोजक तोकिएको छ ।

कार्यक्रमको अन्तिम दिन विभिन्न मन्दिरमा सहयोग गरिने भएको छ । कार्यक्रम मादी गाउँपालिकाको मादीवेशी र पोखराको भद्रकाली मन्दिरमा कार्यक्रम हुनेछ । यस कार्यक्रमका लागि लीलावती पनेरु (सरु) लाई संयोजक चयन गरिएको छ ।

  • ४ भाद्र २०७८, शुक्रबार २१:५७ प्रकाशित