घरघरमा गएर विदेशी सेनामा काम गर्ने मानिस खोज्दै तालिवान

केन्द्रभाग मिडिया

पोखरा । तालिबानले यसअघिको सरकार र अमेरिकी वा नेटोको सेनाका लागि काम गर्ने मानिसलाई घरघरमा गएर खोजिरहेको छ ।

राष्ट्रसंघको एक रिपोर्टअनुसार तालिबानले आत्मसमर्पण नगरे ज्यान मार्ने वा परिवारका सदस्यलाई नै पक्राउ गर्ने धम्की पनि दिएको छ ।
तालिबानले यसअघि पत्रकार सम्मेलन गरेर कसैसँग पनि बदला नलिने बताएको थियो । यद्यपि मानिसहरुमा अझै पनि तालिबान पुरानै स्वरुपमा आउने आशंका देखिएको छ ।

अहिले जारी गरिएको चेतावनीमा धेरै मानिसलाई तालिबानले आफ्नो कालोसूचीमा राखेको र उनीहरु जोखिममा रहेको उल्लेख छ । उनीहरुले आफूलाई आत्मसमर्पण नगरेको अवस्थामा उनीहरुको परिवारका सदस्यलाई उनीहरुको सट्टामा पक्राउ र कारबाही गर्न सक्ने बताइएको छ ।

अफगानिस्तानबाट विदेशीलाई आफ्नो मुलुक फर्काउने काम भइरहेको छ । पछिल्लो पाँच दिनमा काबुल विमानस्थलबाट १८ हजार मानिसको उद्धार गरिएको नेटोका अधिकारीहरुले बताएका छन् ।

बिहीबार अफगानिस्तानको असादबादमा स्वतन्त्रता दिवसको क्रममा प्रदर्शनमा उत्रिएका मानिसहरुमाथि तालिबानले गोली चलाएको थियो । यो घटनामा दुई जनाको मृत्यु भएको थियो ।
त्यस्तै जलालबादमा पनि मानिसहरुले राष्ट्रिय झण्डाको समर्थनमा गरेको प्रदर्शनको क्रममा तालिबानले गोली चलाएको थियो ।

 

 

  • ४ भाद्र २०७८, शुक्रबार १४:१४ प्रकाशित