सापुका कारण पाँच जनाको दृष्टि गुम्यो, सचेत रहन आग्रह (भिडियो सहित)

केन्द्रभाग मिडिया

पोखरा ।
सेतो पुतलीका कारण आँखामा देखिने सापुका कारण यो सिजनमा हिमालय आँखा अस्पताल घारिपाटन उपचारका लागि ल्याइएका बालबालिका मध्ये पाँच जनाको दृष्टि गुमेको छ । सापुको संक्रमण भएपछि समयमा उपचारका लागि नल्याउँदा पाँच जनाको दृष्टि फर्काउन नसकिएको हिमालय आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. एलिया श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार यो सिजनमा मात्र ५५ जना यस्ता विरामीको उपचार भएको उनले बताइन् । त्यसमध्ये पाँच जनाको दृष्टि फर्काउन नसकिएको हो । साँपुका कारण एउटा मात्र आँखामा समस्या आउने उनले जानकारी दिइन् । ‘साँपुका विरामी यो सिजनमा ५५ जना आइसकेका छन् । तिनिहरु मध्य पाँच जनाको दृष्टि फर्काउन सकिएन’ उनले भनिन् । अहिले पनि हिमालय आँखा अस्पतालमा सापुका विरामीको चाप रहेको छ ।

मेडिकल डाइरेक्टर डा. श्रेष्ठका अनुसार हिमालय आँखा अस्पतालमा सबैभन्दा धेरै विरामी कास्कीबाट आउने गरेका छन् । त्यसैगरी म्यागदी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ र लमजुङका विरामी साँपुका कारण उपचारका लागि आएका उनले बताइन् ।

साँपु सेतो पुतलीका कारण लाग्ने आँखाको रोग रहेको जानकारी दिँदै उनले सापुका आँखामा पिप जम्ने र समयमै उपचार नभए दृष्टि नै गुम्ने बताइन् ।

सापु अगष्ट देखि अक्टोबरसम्म देखिन्छ । एक बर्ष विराएर सापु देखिने गरेको उनको भनाई छ । सापुको उपचारमा २४ घण्टाभन्दा ढिला गरे लगभग आँखाको ज्योती नै गुम्ने खतरा रहेको उनले बताइन् । ढिलो भयो भने आँखाको ज्योती जाने खतरा बढी हुन्छ’ उनले भनिन् ।

मेडिकल डाइरेक्टर डा. श्रेष्ठले एक्कासी खाँखा रातो हुने तर चिप्रा नलाग्न, उज्यालोमा हेर्न नसकिने, आँखाको दृष्टिमा तत्काल कमी हुनु, खाँखाको कालो नानी भित्र पीप जमेको देखिनु र खाँखाको नानी सेतो देखिनु र सोतो टल्किएमा तत्काल आँखा अस्पताल आउन आग्रह गरेकी छन् ।

आफ्ना बाबु नानीहरुलाई सेतो पुतलीको संसर्गबाट टाढा टाढा राख्न, धेरै उज्यालो सेतो बत्ती नबाल्न, भm्याल ढोकामा जाली राख्ने वा बेलुका झ्याल ढोका बन्द गर्न, सुत्ने बेलामा बत्ती निभाएर झुल प्रयोग गरेर सुत्न र यो रोगको संका लागेमा तुरुन्त आँखा उपचार केन्द्र वा आँखा अस्पताल ल्याउन मेडिकल डाइरेक्टर डा. श्रेष्ठले सुझाव दिइन् ।

  • ८ आश्विन २०७८, शुक्रबार १२:४२ प्रकाशित