मुक्तिनाथ असोज १० देखि खुल्दै, पिसीआर रिपोर्ट अनिवार्य

केन्द्रभाग मिडिया

गलेश्वर ।

झण्डै पाँच महिनादेखि बन्द रहेको प्रसिद्ध मन्दिर मुक्तिनाथ खुला गरिने भएको छ ।

यही असोज १० गतेदेखि मुक्तिनाथ मन्दिर सर्वसाधारण श्रद्धालुका लागि खुला गरिने भएको हो । गत वैशाखदेखि मुक्तिनाथमा नित्य पूजाबाहेक सर्वसाधारणका लागि दर्शन तथा पूजाआजामा बन्देज लगाइएको थियो ।

कोरोना संक्रमणको जोखिम रहेको भन्दैँ बन्द गरिएको मन्दिर सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरिएको मुक्तिनाथ विकास समितिले जनाएको छ । समितिको अनुसार जिप्रकाको आदेशअनुसार आसोज १० गतेदेखि मन्दिर सबैका लागि खुला हुने भएको हो ।

बैठकले कोरोना परीक्षण गरेको पिसीआर रिपोर्ट वा एन्टिजेन रिपोर्टका आधारमा मात्रै जिल्ला प्रवेश गर्न पाउने व्यवस्था गरेको छ । पिसीआर गरेको सात दिन र एन्टिजेन गरेको ७२ घण्टाभित्रको रिपोर्टका आधारमा मात्रै जिल्ला प्रवेश गर्न दिइने निर्णय गरिएको छ ।

कोरोना खोप लगाएका व्यक्तिले सहज प्रवेश पाउनेछन् । मुक्तिनाथ झण्डै समुद्री सतहबाट तीन हजार ८०० मिटरको उचाइमा अवस्थित छ ।

असोज ५ गते अर्थात हिजो देखि यस वर्षको सोह्र श्राद्ध सुरू भएसँगै हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीमा आफ्ना पितृलाई तर्पण र पिण्डदानसहित श्राद्ध गर्न भक्तजन पुग्न थालेका छन् ।

  • ६ आश्विन २०७८, बुधबार १०:०३ प्रकाशित