प्रसारण लाइन नहुँदा विद्युत खपत बढाउन सकेनौँ :निर्देशक घिसिङ

केन्द्रभाग मिडिया

नवलपुर ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल विद्युत खपत बढाउन नसकेको बताएका छन् ।

प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको बताउँदै खपत हुन नसकेको घिसिङले बताएका हुन् । हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाको निरीक्षणका क्रममा नवलपुर गएका निर्देशक घिसिङले प्रसारण लाइन नभएकै कारण विद्युत् खपत बढाउन नसकेको बताए ।

‘उद्योगीले बत्ती नपाउने, अर्कोतिर खेर जाने भएको छ, यसैले खपत बढाउन प्रसारण लाइन चाँडै बनाउन आवश्यक छ’ उनले भने, ‘हामीले यसका लागि पहल गरिरहेका छौं, राज्यका सबै संयन्त्रले सहयोग गर्नुपर्यो ।’

निर्देशक घिसिङले प्रसारण लाइन निर्माणको क्रममा विभिन्न अवरोध हुँदा कामले प्रगति हासिल गर्न नसकेको भन्दै सबैको सहयोग आवश्यक रहेको बताए । प्रसारण लाइनका कारण दैनिक विद्युत् खेर गएको तर पाउनुपर्ने उद्योगीले नपाएको उनको भनाइ छ ।

चितवनको भरपुरबाट पश्चिम १३२ केभीको सिंगल सर्किटबाट ९० मेघावाट मात्रै विद्युत् पठाउन सकिएको भन्दै निर्माणधीन २२० केभी प्रसारण लाइन सम्पन्न भए करिब ५ सय मेघावाट विद्युत् बुटवलसम्म पुर्याउन सकिने उनको भनाइ छ ।

नवलपुर, परासी, बुटवल क्षेत्रमा उद्योगले विद्युत् धेरै माग गरिरहेको तर प्रसारण लाइनको अभावका कारण समस्या भएको उनले बताए ।

  • ३ आश्विन २०७८, आईतवार १६:४२ प्रकाशित