प्रदेश २ सरकारले यसपटक पनि संविधान दिवस नमनाउने

केन्द्रभाग मिडिया

जनकपुरधाम ।
प्रदेश २ सरकार पछिल्ला दिन वर्ष लगातार संविधान दिवस मनाएन । दुई वर्ष तत्कालीन मधेशी जनअधिकार फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) को संयुक्त सरकार थियो भने गत वर्ष यी दुवै पार्टी एकीकरण गरेर जसपा बनाएका थिए ।

जसपा फुटेपछि यस पटक सरकारमा तत्कालीन राजपाका नेताहरु छैनन् । र, संविधानलाई मान्दै आएको कांग्रेस र माओवादीलाई सरकारमा समावेश गराइएको छ । तर पनि यो सरकारले संविधान दिवस नमनाउने भएको छ ।

मुख्यमन्त्री लालबाबु राउत संविधान दिवस यसपटक पनि नमनाउने बताउँछन् । ‘संविधान दिवस मनाउने समय अहिले भएको छैन्’ उनले भने, ‘यहीं संविधानभित्र हामी छौं र सरकारको नेतृत्व पनि गरिरहेका छौं । तथापि संविधान सेलिब्रेट गर्ने अहिले समय आएको छैन् ।’ संविधान दिवस पनि नमनाउने र विरोध पनि नगरी मौन भएर बस्ने उनले बताए ।

संविधानमा अहिले पनि संघीयता, गणतन्त्र, समानुपातिक समावेशिता, केहि मौलिक हकअधिकार हुँदा हुँदै पनि संविधानमा रहेका त्रुटिहरु नसच्चिएसम्म संविधान दिवस नमनाउने उनले बताए ।

सत्ता गठबन्धनका सहयात्री नेपाली कांग्रेसबाट मन्त्री बनेका रामसरोज यादव पनि प्रदेश सरकारले कुनै कार्यक्रम नगर्ने जानकारी पाएको बताउँछन् । भौतिक पूर्वाधार विकासमन्त्री रहेका यादवले भने, ‘यस सम्बन्धमा कुनै औपचारिक जानकारी छैन् ।

कार्यक्रम तय भएको भए, मलाई पनि जानकारी आउँथ्यो, तर अहिलेसम्म जानकारी प्राप्त भएको छैन् ।’ कर्मचारीले सरसफाइ र दीपावली गर्ने प्रत्येक वर्षझैं प्रदेशका कर्मचारीले भने यसपटक पनि संविधान दिवसको अवसरमा केही कार्यक्रम गर्ने भएका छन् । मुख्य सचिव हरिप्रसाद मैनालीका अनुसार संविधान दिवसका दिन आइतबार बिहान जानकी मन्दिर सरसफाइ गर्ने कार्यक्रम छ ।

यसबाहेक सरकारी कार्यालयहरुको पनि सरसफाइ गर्ने कार्यक्रम निर्धारण गरिएको उनले बताए । संविधान दिवसको अवसर पारेर तीन दिनसम्म सरकारी कार्यालयहरुमा दीपावली मनाउने कार्यक्रमसमेत तय गरिएको मुख्य सचिव मैनालीले बताए । ‘दीपावली मनाउन सर्वसाधारणलाई पनि आह्वान गर्‍छौं,’ उनले भने ।

  • २ आश्विन २०७८, शनिबार १३:१९ प्रकाशित