बँदेललाई थापेको विद्युतीय पासोमा परी एकैघरका तीन जनाको निधन

केन्द्रभाग मिडिया

बर्दिया ।
जङ्गली बँदेललाई थापेको विद्युतीय पासोमा परी एकैघरका तीन जनाको निधन भएको छ ।

पासोमा परी  ठाकुरबाबा नगरपालिका–३ गोदानाका ३२ वर्षीय बालकृष्ण थारु, उहाँकी श्रीमती २९ बर्षिया सुनिता र बालकृष्णकी ४३ बर्षिया भाउजु बेलमतीको निधन भएको प्रहरीले जनाएको छ ।

गएराती खेतमा पानी हेर्न गएका बेला छिमेकीले बँदेल धपाउन धान खेतमा लगाएको विद्युतीय पासोबाट करेन्ट लाग्दा तीनैजनाको निधन भएको इलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरिक्षक कविराज रोकायले जानकारी दिए ।

धानखेतमा विद्युतीय पासो थापेका मृतक परिवारका छिमेकी ८२ वर्षीय राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँकाले जनाएको छ ।

जंगली जनावारबाट खेतवारीमा लगाइएको अन्नबाली जोगाउनका लागि विद्युतीय पासो थाप्दा यसअघि पनि करेन्ट लागेर दुई वटा जंगली हात्ती र एक जना युवाको निधन भैसकेको छ ।

  • २ आश्विन २०७८, शनिबार १०:३० प्रकाशित