असोज २ देखि पोखरामा हुने फुटसल लिगको तयारी अन्तिम चरणमा

केन्द्रभाग मिडिया

पोखरा ।

नेपालमै पहिलो पटक पोखरामा हुन लागेको फुटसल लिगको तयारी अन्तिम चरणमा पुगेको छ ।

असोज २ अर्थात पर्सी शनिबारदेखि २२ गते सम्म सञ्चालन हुन लागेको लिगको तयारीका काम सकिनै लागेको एन्फाअन्तर्गतको एन्फा फुटसल कमिटीले जानकारी दिएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालमै पहिलो पटक फुटसल लिग गर्न लागेको हो ।

फुटसल लिगमा ७ प्रदेशका १० टिम सहभागी हुनेछन् । प्रदेश १ बाट फुटसल फाइभ धरान र दि राइजिङ क्लब धरान, वागमती प्रदेशबाट ढुकु फुटसल हब प्रालि, शंखमूल फुटसल प्रालि, प्रभातफेरि युथ क्लब र स्काइ गोल्स फुटसल काठमाडौं,गण्डकी प्रदेशबाट स्पोर्टस् क्यासल प्रालि र सविन मेमोरियल फुटसल क्लब प्रालि पोखराले खेल्नेछन् । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट लुम्बिनी फुटसल प्रालि र झरना स्पोर्ट्स क्लब रुपेन्देही लिगमा सहभागी हुदैँछन् ।

भदौ २५ देखि लिग गर्ने बताइएका कोरोना महामारीका कारण दोस्रो पटक तय मिति पनि सार्नु परेको थियो । फुटसल प्रतियोगितामा सहभागी हुने बाहिरी प्रदेशका क्लबहरु भोली आइपुग्नेछन ।

राउन्डरोबिन लिगका आधारमा हुने प्रतियोगिताको लिग चरण भने असोज १९ गतेसम्म हुनेछ । असोज २० र २१ गते नकआउट चरणका खेल हुनेछन् भने २२ गते फाइनल हुनेछ ।

लिग विजेतालाई नगद १० लाख रुपैयाँ प्रदान गरिनेछ । उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउनेछन् ।

  • ३१ भाद्र २०७८, बिहीबार १५:५९ प्रकाशित