हिमालय एयरलाइन्सले राख्यो जहाजभित्रै र्हाट अट्याक रोक्ने मेसिन

केन्द्रभाग मिडिया

काठमाडौं ।

हिमालय एयरलाइन्ले जहाज भित्रै हार्ट अट्याक भइहाले रोक्ने मेसिन राखेको छ ।

नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै मेसिनको व्यवस्था गरेको हो । ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा अन्तर्गत जहाजले उक्त मेसिन राखेको हो ।

हिमालय एयरलाइन्सले यसै साता आफ्ना सबै जहाजमा अटोमेटेड, बाह्यरुपमा प्रयोग गर्न मिल्ने जीवनदायी मेसिन राखेको कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर एक यस्तो जीवनदायी मेसिन हो, जसले बिरामीको हृदयगति अकस्मात् बन्द हुँदा वा हुन लाग्दा त्यसलाई रोकी हृदयगति सञ्चालन राख्न मद्दत गर्दछ ।

यो मेसिन राख्ने एयरलाइन्सको जहाज नेपालकै पहिलो र एक मात्र भएको कम्पनीले बताएको छ । यस कार्यबाट आकाशमा जहाज उडिरहँदा भवितव्यवश यदि कुनै यात्रुमा श्वास–प्रश्वास बन्द हुने वा हृदयगति बन्द हुने जटिल समस्या आइपरेमा त्यस्ता बिरामीको निदान गरी ज्यानै जान लागेका व्यक्तिलाई बचाउने कार्य गर्दछ ।

यात्रुको हृदयगति बन्द भएमा, नाडी बन्द भएमा वा श्वास–प्रश्वास रोकिएमा यस मेसिनको सहायताले बिरामीको मुटुमा एक प्रकारको दबाब दिएर मुटु, श्वास–प्रश्वास र नाडीको गति पुनः कायम गराउन सकिन्छ र बिरामीको जीवन बच्न सक्छ । विगत केही हप्तादेखि एयरलाइन्सका सबै उडान कर्मचारीलाई त्यस जीवनदायी मेसिनको प्रयोगबारे अभिमुखीकरण समेत गरिएको विज्ञप्तिमा जनाइएको छ ।

एयरलाइन्सले आफ्ना ग्राउण्डका सबै कर्मचारीलाई समेत यो डफिब्रिलेटरको प्रयोगबारे बृहत् तालिम दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

  • ३१ भाद्र २०७८, बिहीबार १०:०४ प्रकाशित