पिलो निचोरेर तौल घट्दैन, माधव नेपाल चोइटिएर एमाले सानो हुँदैन : ओली

केन्द्रभाग मिडिया

झापा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट माधव नेपाल चोइटिदैमा एमाले सानो नहुने बताएका छन् । आफ्नो गृहजिल्ला झापामा आयाजित अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले यस्तो बताएका हुन् । ‘पिलो निचोरेर तौल घट्दैन । माधव नेपाल चोइटिएर एमाले सानो हुँदैन’ उनले भने, ‘माधव नेपाल पार्टी बनाउन चाहँदैनन् । नभए त यत्रो ठूलो पार्टीबाट चोइटिएर जाँदैन थिए ।’

प्रचण्डले एमालेबाट एक चोइटो मात्रै लगेर जान सकेको ओलीले बताए । ‘प्रचण्डले एउटा चोइटो लगेर गएका माओवादी केन्द्रको नाममा माधव गुट मात्रै हो’, उनले भने, ‘माओवादी केन्द्र होइन। प्रचण्डको मोहजालमा नपर्नुस्। फर्किनुस्’

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको वडा सदस्य जित्ने हैसिय समेत नभएको उनले बताए । उनले जनादेशविपरीत पार्टी फुटाउँदै हिँड्ने नेता नेपाललाई भोट दिन नहुने पनि जिकिर गरे । ‘माधव नेपालले वडाअध्यक्षको कुरा छाडौं, वडा सदस्यको चुनाव पनि जित्न सक्दैनन्’, उनले भने, ‘माधव नेपाललाई जनताले किन भोट हाल्ने ? केका लागि हाल्ने, एमाले फुटाएकाले ? एमाले चोइट्याएकाले ? के कारण जनताले नेपालाई भोट दिने ?’

ओलीले माधव नेपाल प्रतिक्रियावादी भएको आरोप लगाए । नेपालले एमाले कमजोर बनाउन लागेको ओलीको आरोप थियो ।

अध्यक्ष ओलीले माधव जस्तै हैसियत प्रचण्डको पनि रहेको टिप्पणी गरे। ‘प्रचण्डले वडामा पनि जित्न हम्मे पर्ने भनेछन्, मलाई खुसी लागेको छ, उनले भने, ‘प्रचण्डजीले चुनाव पहिले नै कुरा बुझ्नु भएछ । यो सुनेर खुसी लागेको छ।’

 

  • २९ भाद्र २०७८, मंगलवार १७:४५ प्रकाशित