गण्डकी प्रदेश सभा बैठकः बाढीबाट पूर्ण प्रभावित परिवारलाई २ लाख उपलब्ध गराउने मुख्यमन्त्रीको घोषणा

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्ररेलले प्रदेश भित्रका बाढीबाट पूर्ण प्रभावित परिवारलाई २ लाख सहयोग रकम उपलब्ध गराउने घोषणा गरेका छन् ।

आजको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले दुर्गम र हिमाली जिल्ला मनाङ/मुस्ताङमा पूर्ण क्षति भएका परिवारलाई १ लाख थप गरी २/२ लाख उपलब्ध गराउने बताए ।

बैठकमा सांसदहरुले बाढीपहिरोबाट प्रभावित बनेका परिवारलाई क्षतिपूर्ति माग गरेका थिए । त्यसपश्चात मुख्यमन्त्रीले प्रदेशमा बाढी पहिरोले पुर्याएको क्षति र सरकारले गरेका काम बारे जवाफ दिदैँ प्रभावितलाई सहयोग रकमको घोषणा गरेका हुन् ।

गण्डकी प्रदेशमा असार १ देखि हालसम्म बाढीपहिरोमा परी ३३ जनाको मृत्यु भएको र ४४ जना घाइते भएको मुख्यमन्त्रीले बताए ।यस्तै बाढीपहिरोले ५ सय २ घर, ५ वटा सरकारी कार्यालय, ७ वटा विद्यालय, ६ वटा सामुदायिक भवन, २५ वटा हाइड्रोपावर र ३६ वटा पक्की पुललगायतमा क्षति पुगेको छ । बाढी र पहिरोको कारण १ सय ७६ ठाउँको सडक यातायात अवरुद्ध रहेको मुख्यमन्त्रीले बताए ।

विपद्को समयमा ७ सय ३१ घरका ३ हजार ७ सय ७० जनालाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको मुख्यमन्त्रीले जानकारी दिए । उनले भने, ‘१२ सय ५ घरधुरीका ४ हजार ७ सय ६५ जनालाई ७९ लाख ६१ हजार ८ सय ९३ बराबरको जिन्सी सामानहरु र ४१ लाख ८५ हजार नगद गरी १ करोड २१ लाख ४६ हजार ९ सय ७३ बराबरको रकम राहत वितरण गरिएको छ ।’

यस्तै दुई महिनापछि बसेको गण्डकी प्रदेशसभा बैठकमा तीनवटा विद्येयक पेश भएका छन् । यसअघि प्रदेशसभा बैठक असार ३० बसेको थियो ।

बैठकमा प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ र प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक पेस भएको छ

कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले आमसञ्चार र सेवासुविधा सम्बन्धी विधेयक पेश गरेका थिए भने, शिक्षा, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले बालबालिकाको अधिकार सम्बन्धी विधेयक पेश गरेका थिए ।

  • २९ भाद्र २०७८, मंगलवार १६:५६ प्रकाशित