मुस्ताङमा ‘टू जी बाट थ्री जी’ अपग्रेडः दर्शनार्थीले अब सहज सञ्चार सेवा पाउने

केन्द्रभाग मिडिया

मुस्ताङ ।

मुस्ताङको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र दामोदरकुण्डमा सञ्चार सेवा सहज भएको छ । यसका लागि नेपाल टेलिकमले आफ्नो सेवामा स्तरोन्नति समेत गरेको छ ।

उपल्लो मुस्ताङमा रहेका दुईवटा बीटीएस टावरको स्तरोन्नति गरेर टेलिकमले दर्शनार्थीका लागि सहज सञ्चार सेवा उपलब्ध हुने वातावरण बनाएको टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए ।

उनका अनुसार दामोदरकुण्ड गाउँपालिकामा पर्ने घिलिङ लोदा र नाङ्लियाको ‘बीटीएस टावर’को स्तरोन्नति गरिएको छ । ‘टू जी’ क्षमताका दुवै टावरको क्षमता बढाएर ‘थ्री जी’ सेवा सुरु गरिएको उनले बताए ।

यसैगरी चार हजार ४०० मिटरको उचाइमा रहेको धेयगाउँमा नयाँ बीटीएस टावर जडान गरिएको छ । टू जी क्षमताको टावरले दामोदरकुण्ड जाने पदयात्री तथा दर्शनार्थीका लागि सञ्चार सुविधा सहज हुने प्रमुख शर्माले जानकारी दिए।

ुमुस्ताङमा यसै पनि लोड कम छ, त्यहाँ विस्तार भएको थ्री जी सेवाले मात्रै उपभोक्ताले उच्च गतिमा इन्टरनेट र भ्वाइस पाउँछन्, उनले भने,‘मुस्ताङका सबै गाउँ कभर हुने गरी नेटवर्क विस्तार भएकाले अब समस्या हुँदैन ।’

मुस्ताङमा टावर निर्माण नभएका ठाउँमा समान्य विद्युतको पोलमा बीटीएस प्रणाली जडान गरेर टेलिकमले सेवा विस्तार गरेको छ । सदरमुकाम जोमसोम बजारमा ‘फोरजी सेवा’ विस्तार भइसकेकाले गाउँमा पनि आवश्यकताका आधारमा स्तरोन्नति गरिने टेलिकमले जनाएको छ । धेयगाउँको टावरमा सौर्यऊर्जा जडान भएपछि विद्युत् नभएको बेलामा समेत उपल्लो मुस्ताङमा सञ्चार सेवा बन्द नहुने प्रमुख शर्माले बताए।

बागलुङका सबै गाउँमा फोरजी तयारी

टेलिकमले आउँदो दशैँसम्ममा बाग्लुङका सबै गाउँमा फोरजी सेवा उपलब्ध गराउने भएको छ । मौजुदा टावरहरुको स्तरोन्नति गरेर गाउँ–गाउँमा उच्चगतिको इन्टरनेट र भ्वाइससहितको सेवा विस्तार थालिएको हो । बजार क्षेत्र र बाक्लो बस्ती भएका ठाउँमा यस सेवा विस्तार गरिसकेको टेलिकमले गाउँका कुना–कुनामा फोरजी सेवा पुग्ने गरी बीटीएस टावरको स्तरोन्नति थालेको हो।

  • २९ भाद्र २०७८, मंगलवार १३:४८ प्रकाशित