बागलुङमा चोरी बितण्डाः प्रहरी अनुसन्धान फितलो र निष्प्रभावी बनेको स्थानीयको गुनासो

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर:गुगलबाट

बागलुङ ।

बागलुङमा पछिल्लो समय चोरी बितण्डा मच्चिएको छ । यस वर्ष मात्रै बागलुङमा दर्जनौ चोरीका घटना भएका छन् । निषेधाज्ञा खुकुलो भएसँगै मानिसहरु घर छाडेर आ–आफ्नो काममा निस्किन सुरु गरेसँगै बागलुङमा चोरीका घटना बढ्न थालेका छन् ।

गलकोट नगरपालिका–३ हटिया, बेँसीका तेजबहादुर बोहोरा घरमा तालाचाबी लगाएर तीजको दर खान बोहोराफाँटमा रहेको घरमा गए ।सपरिवार दर खान गएका बोहोरा भोलिपल्ट घर फर्किदा अघिल्लो दिन ठिकठाक छाडेको घरमा चोरले बितण्डा मच्चाएको देख्दा चकित भए ।

घरमा कोही नभएको मौका छोपेर उनका घरमा चोरले ढोका, दराजका ताला र सुटकेस फोरेर नगदसहित गरगहना लुटेका थिए । उनको घरबाट करिब ८ तोला बराबरका सुनका गरगहना र १ लाख ४० हजार नगद चोरी भएको छ। सुनको बेरुवा औँठी, हार, मंगलसूत्र, सादा औँठी, तिलहरी र झुम्का चोरले लगेको उनको भनाइ छ ।

चोरले रड प्रयोग गरी चाबी फोरेको पाइएको छ । अनुसन्धानका क्रममा उक्त रड चोरी भएको कोठामै फेलापरेको प्रहरीले जनाएको छ । योसँगै १ वर्षयता गलकोटमा चोरीका दर्जनौँ घटना भएका छन् । गत असोजमा वडा नं २ नरेठाँटीका ज्येष्ठ दम्पतीलाई बन्धक बनाएर सम्पत्ति लुटपाट भएको थियो । हतियारधारी जथ्थाले ६५ वर्षीया गोरबहादुर भण्डारी र उनको श्रीमतीलाई धाकधम्की देखाएर ९ तोला सुन र नगद ६५ हजार लुटेका थिए ।

६ जनाको लुटेरा समूहले आफूहरु प्रहरी भएको र खानतलासी गर्न आएको भन्दै भण्डारीको घरमा लुट मच्चाएका थिए । हातखुट्टा बाँधेर चोरी गरिएकाले दम्पतीले हारगुहार गर्नसमेत नपाएको स्थानीयवासी बताउँछन् । भोलिपल्ट बिहानमात्र छिमेकीले घटनाबारे थाहा पाएका थिए ।

गत माघको पहिलो हप्तामात्रै गलकोटका विभिन्न वडा र बस्तीका १८ घरमा चोरी भयो । नगरप्रमुख भरत शर्मा गैरेको वडा नं २ स्थित घरलाई समेत चोरले निशाना बनाए । उनको घरबाट रु १० हजार नगद र गरगहना लुटिएको थियो । माघ ३ गतेको रात उक्त वडाका आधा दर्जन घरमा चोरीका घटना भए । त्यसको भोलिपल्ट वडा नं ५ को गलकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडसहित ८ घरमा चोरी र तोडफोड भयो । जबकि उक्त सहकारी प्रहरी कार्यालयदेखि ३ सय मिटरको दूरीमा पर्छ ।

सटरको ताला फोडेर सहकारीभित्र पस्न खोजेको तर नसकेपछि लुटेरा त्यहाँबाट भागेको दृश्य सिसी क्यामेरामा समेत कैद भएको थियो । गत जेठ २९ गते वडा नं ६ चरौँदीका लालबहादुर खत्रीको घर तोडफोड गरी नगद र गरगहना लुटियो । घरमा कोही नभएको मौका हेरी लुटेराले १ तोला सुनको मंगलसूत्र, झुम्का, आइफोन मोबाइल र नगदसमेत गरी ४ लाखको धनमाल चोरेका थिए ।

उक्त घटनामा संलग्न रहेको आशंकामा स्थानीय केही व्यक्ति पक्राउ त परे तर २ दिनमै छुटे । प्रहरीले सामान्य सोधपुछपछि उनीहरुको संलग्नता नदेखिएकाले छाडिएको जवाफ दियो । हरेकजसो घटनामा अनुसन्धान जारी रहेको बनिबनाउन जवाफ प्रहरीबाट आउने गरेको छ ।

नरेठाँटीका ज्येष्ठ दम्पतीको घरमा भएको लुटपाटमा संलग्न रहेको आरोपमा १ जनालाई पक्राउ गरिए पनि मुद्दाको टुंगो लागेको छैन । उक्त घटनामा ६ जना संलग्न रहेकामा अन्य ५ अझै अनुसन्धानको दायरामा आउन सकेका छैनन् । अन्य घटनामा पनि प्रहरी अनुसन्धान सोधपुछमै सीमित छ । कतिपय घटनामा त प्रहरी पुग्नै सकेको छैन । पीडित र स्थानीयवासीले भने प्रहरी अनुसन्धान फितलो र निष्प्रभावी भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

नगरप्रमुख भरत शर्मा गरैले लगातारजसो चोरीका घटना हुँदा पनि दोषी पत्ता लाग्न नसक्नु दुर्भाग्य भएको बताए । ‘कि त प्रहरीको अनुसन्धान प्रक्रियामै त्रुटि छ, कि प्रहरीले घटनाप्रति चासो दिएकै छैन’, उनले भने । कतिपय घटनाका प्रकृति हेर्दा पेशेवर लुटेरा सक्रिय भएको देखिएकाले सुरक्षामा गम्भीर चिन्ता थपिएको नगरप्रमुख गैरेले बताए । कानुनतः स्थानीय तहले प्रहरी र प्रशासनका एकाइलाई आपराधिक घटनाका सम्बन्धमा अनुरोध र समन्वयबाहेक केही गर्न नसक्ने उनले उल्लेख गरे ।

‘जिल्ला प्रशासन कार्यालय र प्रहरीमा गलकोटको समस्यालाई गम्भीररूपले उठाएको छु, तर खास सुनुवाइ र चासो लिएको देखिएको छैन’, नगरप्रमुख गैरेले गुनासो गरे । दोषीलाई कानुनी कठघरामा ल्याउन नसके चोरीका घटनालाई निरुत्साहित गर्न नसकिने उनको भनाइ छ ।

हटिया प्रहरी चौकीका प्रहरी नायब निरीक्षक बाबुराम पुरीले गत बुधबार राति वडा नं ३ बेँसीमा भएको घटनामा शंकास्पद देखिएका व्यक्तिलाई कार्यालयमा झिकाइ सोधपुछ गर्ने भइरहेको बताए । ‘दोषी पत्ता लागेको छैन, अनुसन्धान जारी छ’, उनले भने । प्रनानि पुरीले प्रहरीको प्रत्यक्ष पहुँच नभएका ग्रामीण भेगमा चोरीका घटना बढी भइरहेको जानकारी दिए ।

उनले चोरी हुन नदिन सुरक्षाका उपाय अपनाउन, धनमाल र गरगहना घरभित्रै छाडेर बाहिर नजान, शंकास्पद व्यक्ति देखिएमा प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई सुझाएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले गलकोटमा भइरहेका चोरीका घटनालाई संवेदनशीलरूपमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताएका छन् । ‘घरमा कोही नभएका बेला पारेर हुने चोरीका घटनामा अनुसन्धान जटिल हुने गर्छ, समय लागे पनि दोषी पत्ता लाग्छ’, उनले भने ।

मास्क, मुकुण्डो, पञ्जा लगाउने हुनाले लुटेरा उम्कन सफल हुने गरेको उनको भनाइ छ । ‘बन्दाबन्दी र निषेधाज्ञामा सबैजना घरमै बस्ने भएकाले चोरी हुन्थेन, अहिले निषेधाज्ञा हट्यो फेरि घटना दोहोरिन थालेका छन्’, प्रहरी उपरीक्षक पल्ली मगरले भने ।रासस

  • २९ भाद्र २०७८, मंगलवार १०:२४ प्रकाशित