एमसीसी विरुद्ध विप्लवको आन्दोलन घोषणा

केन्द्रभाग मिडिया

काठमाडौं ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीविरुद्धको पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सो पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले भदौ २८ गते राजधानीमा एमसीसी विरुद्ध वृहत् प्रदर्शन गर्ने जानकारी गराएका हुन् ।

एमसीसीको विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले एमसीसीको विरुद्धमा पार्टीले आन्दोलनको कार्यक्रम घोषणा गरेको जानकारी गराउँदै संसद्बाट एमसीसी पास गराउने षड्यन्त्र भइरहेको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मूर्खता गरे भने देश आन्दोलनको भुमरीमा फस्ने चेतावनी उनले दिए ।

एमसीसीलाई नेपालबाट सधैँका लागि भगाउन एकखालको आन्दोलनको आवश्यकता रहेको उनले बताए । एमसीसी राष्ट्रियतासँग सम्बन्धित मात्र नभए देशको जलस्रोतलगायत अन्य प्रकृति संरक्षणको विषयसमेत रहेको बताउँदै उनले यसको विरुद्धमा सबै एकजुट हुनुपर्ने बताए ।

एमसीसी उपाध्यक्ष फातिमा सुमार नेपाल आएर प्रधानमन्त्री सहित विभिन्न राजनीतिक दलका प्रमुखहरुसँग भेट गरिरहँदा विप्लव नेतृत्वको नेकपाले आन्दोलनको घोषणा गरेको हो ।

शुक्रबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा उपाध्यक्ष फातिमा सुमारले एमसीसी संसदबाट छिट्टै अनुमोदन हुनेमा विश्वस्त रहेको बताएकी थिइन् ।

 

  • २६ भाद्र २०७८, शनिबार १४:५० प्रकाशित