राष्ट्रिय सहमतिपछि भए मात्रै एमसिसी पास : प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिका आधारमा मात्रै अमेरिकी सहयोगी परियोजना (एमसिसी)लाई अगाडि बढाउन सकिने बताएका छन् ।

एमसिसीका सम्बन्धमा अनेकन खालका विवाद र द्विविधा रहेको उल्लेख गर्दै उहाँले केही विषयमा संशोधन हुनुपर्छ भन्ने आफूहरुको मत रहेको प्रचण्डले बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालसँग शिष्टाचार भेटका लागि एमसिसीका उपाध्यक्ष फतिमा सुमार आज बिहान प्रचण्ड निवास खुमलटार पुगेकी थिइन् ।

अध्यक्ष दाहालले नेपालका सबै राजनीतिक दलबीच साझा सहमतिका आधारमा मात्रै आयोजना अगाडि बढाउन सकिनेमा आफूहरु स्पष्ट रहेको बताएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। “नेपालका राजनीतिक दलबीचको सहमतिका आधारमा मात्रै एमसिसी अगाडि बढाउनुपर्छ भन्नेमा हामी एकमत छौँ”, अध्यक्ष दाहालले भने ।

आफूहरुको पाँच दलीय गठबन्धनको बीचमा पनि साझा धारणा बनाएर मात्रै यसलाई अगाडि बढाउने पक्षमा रहेको उहाँको भनाइ थियो । सो अवसरमा उपाध्यक्ष फतिमाले नेपालका राजनीतिक दलबीचमा अन्तक्र्रिया गर्न आफू नेपाल आएको बताएका थिए ।

उनले नेपालका राजनीतिक दलका बीचमा साझा सहमतिका आधारमा आयोजना अगाडि बढोस् भन्ने आफूहरुको चाहना रहेको उल्लेख गरिन् । आयोजनाको उपादेयताका बारेमा जानकारी दिँदै उपाध्यक्ष फतिमाले पारदर्शीपूर्ण छलफलका आधारमा मात्रै अगाडि बढ्न सजिलो हुने बताइन् ।

आफूहरु कुनै पनि दबाब दिने उद्देश्यले नआएकाले यसलाई नियमित भ्रमण भएको भेटको क्रममा उनले बताइन् ।

बिहीबार नेपाल आएकी उपाध्यक्ष फतिमाले नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरिसकेकी छन् । एमसिसीका बारेमा परस्परविरोधी मत रहेका बेला आयोजनाका बारेमा जानकारी लिने उद्देश्यका साथ फतिमा नेपाल आएकी हुन् ।

  • २५ भाद्र २०७८, शुक्रबार १२:२९ प्रकाशित