एमसीसी अगाडि बढाउन खोजेको स्मरण गराए ओलीले

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफू सरकारमा हुँदा एमसीसी अघि बढाउन खोजेको स्मरण गराउँदै अब यो विषय नयाँ सरकारमा भर पर्ने बताएका छन् ।

केपी शर्मा ओली र मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीबीच बिहीबार भएको शिष्टाचार भेटवार्ताका क्रममा ओलीले यस्तो बताएका हुन् । ‘हामीले सरकारमा हुँदा एमसीसी कार्यान्वयनका लागि पहल गरेको हो, केही विषय अघि बढेकै थिए, अब यो विषय नयाँ सरकारमा भर पर्छ’, ओलीको भनाइ उद्धृत गर्दै ओलीसंगैं भेटमा सहभागी एक नेताले भने ।

भेटमा उपाध्यक्ष सुमारले एमसीसी अघि बढाउने विषयमा चासो राखेपछि अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ओलीले दुई देशबीचमा भएका सम्झौता पालना हुनुपर्छ भन्ने मान्यताअनुसार आफ्नो पालामा एमसीसी परियोजनाको प्रावधान संसदमा लगिसकेको प्रष्ट्याए ।

‘एमालेभित्रै केही रिजर्भेसन रहँदा रहँदै पनि हामीले अघि बढाउने कोसिस गरेकै हो, संसदमा टेबुल गरिसकेका थियो, केबल सभामुखलगायत केही व्यक्तिको भूमिकाका कारण अघि बढ्न सकेन, तर अहिले हामी प्रतिपक्षमा छौँ, हाम्रो भूमिका फरक भएको छ, यो विषयमा सत्ताधारी दलले पनि हामीसँग छलफल गरेका छैनन्, अब के हुन्छ भन्ने भूमिका सरकारकै धेरै छ’, ओलीको भनाइ उधृत गर्दै ति नेताले भने ।

  • २४ भाद्र २०७८, बिहीबार १७:१४ प्रकाशित