राष्ट्रपतिद्धारा नवनियुक्त प्रधान सेनापति शर्मालाई दर्ज्यानी चिन्ह प्रदान

केन्द्रभाग मिडिया

काठमाडौंँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको शपथ लिए ।

मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिका रुपमा शर्माले तीनवर्षे कार्यकालका लागि आजैदेखि औपचारिकरुपमा सैनिक नेतृत्वको जिम्मेवारी सम्हाल्ने छन् ।

समारोहमा प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए । राष्ट्रपति भण्डारीले सरकारको सिफारिशमा उनलाई यही भदौ ११ गते आजदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् । नवनियुक्त प्रधानसेनापति शर्माले जङ्गी अड्डामा निशान भगवतीको पूजार्चना गर्ने छन् ।

यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाको तीनवर्षे कार्यकाल आजै सकिएको छ । नवनियुक्त प्रधानसेनापति शर्माले सामूहिक नेतृत्व, तालीम र आर्थिक पारदर्शितालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने यसअघि नै बताइसकेका छन् । उनको सम्मानमा आज सैनिक मुख्यालय टुँडिखेलमा स्वागत समारोह आयोजना हुनेछ ।

 

  • २४ भाद्र २०७८, बिहीबार १२:४६ प्रकाशित