आज नारीहरुको महान चाड तीज

केन्द्रभाग मिडिया

काठमाडौ । आज हरितालिका तीज, नेपाली हिन्दू नारीहरुले नाचगान र पूजा उपासना गरेर धुमधामका साथ मनाउँदैछन् । सामान्यतया हिन्दु धर्ममा मान्ने केही देशहरुमा मनाउने विशेष चाड हो हरितालिका तीज ।

यो चाड तीन भाद्र शुक्ल द्धितियादेखि पञ्चमीसम्म्म मनाइन्छ । भगवान शिवको व्रत बसेर नाचगान गर्दै महिलाहरुले मनको वेदना पोख्ने चाडको रुपमा लिइन्छ । हिन्दु महिलाहरुले मनाउने तीजलाई अन्य धर्मका महिलाहरुले पनि हर्षोल्लासका साथ मनाउने गर्छन ।

हिमालय पुत्री पार्वतीले आफ्नो पति भगवान शिवको शरीरमा केहि नहोस भनी लिएको पहिलो व्रत दिन हरितालिका तीजको दिन थियो । पार्वतीको विवाह भगवान विष्णुसँग गरिदिने वचन पिता राजा हिमालयले गरेकोले पार्वतीले आफुले मन पराएको शिवलाई पाउन तपस्या गरेकी थिइन् ।

आफुले तपस्या गरेको वर्षदिन पुग्दासमेत फल नपाएपछि पार्वतीले एकदिन शिवको मुर्ति राखेर निराहार ब्रत बसिन् । यसरी पार्वती निराहार व्रत बसेपछि शिव जी आफै प्रकट भई इच्छा पुरा होस् भनी आर्शिवाद दिएकाले पार्वती र शिवको विवाह भएको विश्वास रहेको छ । उक्त दिन भाद्र शुक्ला तृतिया परेको थियो ।

यसरी शिव र पार्वतीको विवाह सम्पन्न भएपछि हिन्दु नारीहरुले यसदिनलाई हरितालिका तीज चाडको रुपमा मनाउन थालेको मानिन्छ । हाम्रो समाजमा तीजमा विवाहित महिलाहरुले आफ्नो पतिको दिर्घायुको कामना गर्ने र अविवाहिताहरुले शिवजी जस्तै योग्य पति पाउने आशा गर्दै व्रत बसी नाचगान गर्छन् । विशेष त यो चाडमा नारीहरुले पतिको आयु लामो होस् भनेर निराहार व्रत बसी भगवान शिवजीसँग प्राथना गर्छन् ।

दिनभरी व्रत बसेर साझमा भगवान शिवको आराधना गरेर गीत तथा नाचगान गर्ने चलन रहेको छ । घरमा महिलाले भोगेका दुख दिदीबहिनीसँग गीतको माध्यमबाट पोख्ने पुरानो चलन रहेको छ । यसरी छिमेकमा दिदी बहिनी जम्मा भएर रमाइलो गर्छन् । जन्मघर र आफ्ना आमा बुबा दाजु भाई दिदी बहीनी छाड्न बाध्य नारीहरुले यस दिन वर्ष भरीको सबै दुख बिर्सीएर रमाउने गर्छन् ।

  • २४ भाद्र २०७८, बिहीबार १२:३२ प्रकाशित