प्रधानमन्त्री देउवाको जिल्लामा क्रियाशील सदस्यता नवीकरण र वितरणमा धाँधली

केन्द्रभाग मिडिया

पोखरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा क्रियाशील सदस्यता नवीकरण र वितरणमा व्यापक धाँधली देखिएको छ।

क्रियाशील सदस्यता छानबिन समितिले डडेल्धुराका जिल्ला सभापतिकी आमादेखि वडा सभापतिसम्मका नेता–कार्यकर्ताहरुको सदस्यता खारेज गरेको छ।

सदस्यता खारेज हुनेमा जिल्ला सभापति मल्लकी आमा पार्वतीदेवी मल्ल, पूर्वजिल्ला सभापति तथा परशुरामका पूर्वनगर सभापति तारीसिंह बोहरा, त्रिभुवन विश्वविद्यालयका पूर्वस्ववियु सभापति लोकराज भट्ट, जिल्ला कार्यसमिति सदस्य कमला विष्ट, अमरगढी नगरपालिका–९ का सभापति नरबहादुर पाल र कार्यालय सचिव रामबहादुर विष्टलगायत छन्।

क्रियाशील सदस्यता नवीकरण नभएपछि अमरगढी नगरपालिका–९ का सभापति पाल पार्टीको किरियामा बसेका छन्।
उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा कपाल खौरिएका दुई तस्बिर ‘पोस्ट’ गर्दै आफू अन्यायविरुद्ध ‘किरिया’ बसेको उल्लेख गरेका छन्।

‘नेपाली कांग्रेस पार्टीको अन्यायविरुद्ध कपाल खौरेर किरिया बसेको पहिलो दिन। अनपा ९ सभापति नरबहादुर पाल। नेपाली कांग्रेस पार्टीमा मेरो ३० वर्षको लगानी पार्टीलाई सिध्याउन लाग्ने केही खुरापातीले मेरो क्रियाशील सदस्यता हटाएर आफूलाई बहादुर सम्झनेहरु निकट भविष्यमा फल भोग्न तयार रहनुहोला’, वडा सभापति पालले लेखेका छन्।

केन्द्रीय निर्वाचन समितिले वेबसाइटमार्फत सार्वजनिक गरेको सदस्यता नामावलीमा धेरै सदस्यहरुको नाम हटाएको पाइएको कांग्रेस डडेल्धुराले जनाएको छ। कांग्रेस डडेल्धुराका कार्यालय सचिव विष्टले चार तहबाट प्रमाणित भएकाहरुको नाम केन्द्रले हटाएको बताए।
वडा, पालिका, प्रदेशसभा क्षेत्र र जिल्ला कार्यसमितिबाट निर्णयसहित अनुमोदन गरिएका चार सयभन्दा बढी सदस्यको नाम हटाइएको उनको दाबी छ।

कार्यालय सचिव विष्टले जिल्लाबाट सिफारिस नै नगरिएका व्यक्तिको नाम क्रियाशील सदस्यता सूचीमा समावेश गरिएको पनि बताए।
जिल्ला कार्यसमितिले २ हजार ५ सय ६ नयाँ सदस्य तथा नवीकरणका लागि पुराना सदस्यको नाम गरेर ५ हजार ८ सय ४ जनाको सूची केन्द्रमा सिफारिस गरेको थियो। जसमध्ये ४ सय ४४ जनाको नाम केन्द्रीय सदस्य रमेश लेखक संयोजकत्वको छानबिन समितिले हटाएर पठाएको छ।

समितिले सभापति देउवाको क्रियाशील सदस्यता रहेको गन्यापधुरा गाउँपालिका–१ मा १६ जना क्रियाशील सदस्यहरुको नाम हटाएको छ।
लेखक संयोजकत्वको समितिले देउवापुत्र जयवीरसिंह देउवासहित १० जनाको नाम थपेर मतदाता नामावली सार्वजनिकका लागि निर्वाचन समितिलाई क्रियाशील सदस्यहरुको सूची उपलब्ध गराएको छ।

डडेल्धुराका उपसभापति करुणकर भट्टकाअनुसार जिल्लाले सिफारिस गरेका नामहरु हटाएर सिफरिस नै नगरिएका दुई सय ८१ जनालाई केन्द्रबाटै नयाँ सदस्यता दिइएको दाबी गरेका छन्।

पार्टीको सातौँ अधिवेशनमा जिल्ला सभापतिका लागि तीन जना आकांक्षी देखिएका छन्। जसमा भीमबहादुर साउद, करुणाकर भट्ट र हरिप्रसाद भट्ट छन्।

परशुराम नगरपालिकाका नगर प्रमुखसमेत रहेका साउद कांग्रेस सभापति देउवानिकट हुन्। उनलाई देउवापत्नी आरजु राणाको समर्थन छ।
यस्तै, जिल्ला सभापति मल्लको समूहबाट उपसभापति भट्टको नाम चर्चामा छ। डडेल्धुरामा तेस्रो धार सिटौला समूहको नेतृत्व गर्दै आएका हरिप्रसाद पनि सभापतिको दौडमा छन्। उनी पेसाले कानुन व्यवसायी हुन्।

सभापतिका आकांक्षी तीनै जना आ–आफ्नो पक्षधर नेता कार्यकर्ता भेटघाटमा व्यस्त छन्। कांग्रेस सभापति देउवाले गृहजिल्लामा अघि सारेका सभापतिका उम्मेदवार साउदलाई जिताउने अभिप्रायले चार तहबाट पारित गरेर पठाएका क्रियाशील सदस्यहरुमा थपघट गरेर मतदाता नामावली सार्वजनिक गरिएको उपसभापति भट्टको आरोप छ।

 

केन्द्रले सार्वजनिक गरेको नामावलीमा पुराना नेता–कार्यकर्ताहरुको सदस्यता खारेज गरेको देखिएपछि कांग्रेस डडेल्धुराले जिल्ला कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।

बैठकमा पार्टीका वडा सभापति, गाउँपालिका÷नगरपालिका सभापति, क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरुलाई पनि बोलाइएको सभापति मल्लले जानकारी दिए।

 

  • २२ भाद्र २०७८, मंगलवार १६:०१ प्रकाशित