वागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले तत्काल विश्वासको मत नलिने र राजीनामा पनि नदिने

केन्द्रभाग मिडिया

पोखरा । बागमती प्रदेश सरकार अल्पमतमा पर्ने भएपछि एमाले उपाध्यक्ष तथा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सत्ता बचाउने लक्ष्यका साथ आफ्नो रणनीति बनाउन जुटेकी छिन् ।

उनी तत्काल विश्वासको मत नलिने र राजीनामा पनि नदिने मनस्थितिमा पुगेकी छन् ।
भदौ २ गते बागमती प्रदेशमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले पार्टी एकता जोगाउन भन्दै एकाएक राजीनामा दिएर शाक्यलाई मुख्यमन्त्री नियुक्त गरिएको थियो ।

पार्टी एकताका लागि भन्दै पौडेलले प्रदेशको बागडोर शाक्यलाई सुम्पिएपनि विभाजनको असर भने प्रष्ट देखियो
केन्द्रमा एमालेको आधिकारिक विभाजनपछि बागमतीका पनि १३ सांसद माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी तिर लागेपछि प्रदेशमा विभाजनको प्रष्ट चित्र मात्र देखिएन, सरकारनै अल्पमतमा पर्ने निश्चित भएको हो ।

लामो समय माधवकुमार नेपाल पक्षमा खुलेकी मुख्यमन्त्री शाक्य एकाएक क्याम्प परिवर्तन गर्दै संस्थापनबाट मुख्यमन्त्री बनेकी हुन् । तर शाक्यलाई साथ दिने ठानिएका सांसदहरु नै समाजवादीमा सामेल भएपछि उनलाई सरकार टिकाउन ठुलो चुनौतीको सामना गर्नुपर्ने देखिएको हो ।
आइतबार हेटौंडामा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री शाक्यले हाल नेकपा एमाले आधिकारिक रुपमा विभाजन भएर नयाँ पार्टी नेकपा एकीकृत समाजवादी गठन भएको र आगामी २२ गतेसम्म सनाखतको समय रहेकाले तत्काल विश्वासको मत नलिने बताएकी हुन् ।

उनले नेकपा एमाले विभाजनपछि १३ जना सांसद्हरु नेकपा एकीकृत समाजवादीमा गएको तथा सो पार्टी माओवादी केन्द्र र काँग्रेससँग गठबन्धनमा सहभागि हुने भएकाले विपक्षी दलले अपनाउने कदमका आधारमा आफ्नो रणनीति तथा योजनाहरु संचालन गर्दै जाने बताइन् ।

‘हामी तत्काल विश्वासको मत लिने सोचमा छैनौं । एमाले विभाजन भएपछि १३ जना सांसद् नयाँ पार्टीमा लाग्नुभएको छ । उहाँहरु विपक्षी गठबन्धनमा सहभागी हुने देखिएको छ । उहाँहरुले चालेको कदमपछि हामी हाम्रो योजनाहरु कार्यान्वयन गर्छौ,’ उनले भनिन् ।
उनले प्रतिपक्षको प्रस्तुति अनुसार नै आफू अगाडि बढ्ने भन्दै विपक्षी दलका नेतासँग विगतको सम्बन्धका आधारमा सहमती र सहकार्यको गृहकार्य गर्ने बताइन् ।

‘विपक्षी दलका नेताहरुसँग पनि विगतदेखि नै सकारात्मक सम्बन्ध छ । उहाँहरुसँग सहकार्यको लागि गृहकार्य गरेर सहमतिको आधारमा सरकार अघि बढ्छ,’ उनले थपिन् । उनले तत्काल आफूले राजीनामा दिने मनस्थिति नबनाएको पनि स्पष्ट गरिन् ।

उनले परिस्थितिले प्रतिपक्षमा बस्न बाध्य बनाए आफू खुसी भएर प्रतिपक्षमा बस्न तयार रहेको पनि बताइन् ।‘जनताको काममा इमान्दारीताका साथ लागेका छौं । जति दिन सरकारको नेतृत्व पाउँछौ, हामी त्यस बेलासम्म काम गछौं । प्रतिपक्षमा बस्नु पर्ने अवस्था आए पनि हामी सहर्ष स्वीकार गर्छौँ,’ उनले भनिन् ।

एमालेको विभाजनपछि बागमती प्रदेशसभाको समीकरणमा फेरबदल आएको छ । बागमती प्रदेशमा हाल कायम रहेका १०९ जना सांसदमध्ये नेकपा एमालेका ५६ सांसद थिए । एमाले विभाजनपछि १३ सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराइसकेका छन् । जसका कारण नेकपा एमाले ४३ सांसदमा खुम्चिएको छ ।

प्रदेशसभामा माओवादी केन्द्रका २३ जना, काँग्रेसका २२ जना, विवेकशील साझाका ३ जना, राप्रपा र नेमकिपाका २÷२ जना र एक स्वतन्त्र सांसद् छन् ।
एमालेलाई शाक्य नेतृत्वको सरकार टिकाउन हाल १२ जना सांसद् अपुग देखिन्छ ।

एमालेले प्रदेशसभामा प्रतिनिधित्व गर्ने साना दलहरूको समर्थन पाउने अवस्था देखिदैन । जसका कारण सत्ता बचाइराख्न ५५ जना सांसदको समर्थन जुटाउन असम्भव जस्तै देखिन्छ ।
बागमती प्रदेशमा गठबन्धन नेतृत्वको सरकार बन्ने सम्भावना बलियो रहेको छ ।
बागमती प्रदेशमा गठबन्धनका तर्फबाट माओवादी, काँग्रेस र एकीकृत समाजवादी मिल्दा सहजै बहुमत पुग्ने देखिन्छ ।

पछिल्लो समीकरण अनुसार एकीकृत समाजवादीका १३, माओवादीका २३ र काँग्रेसका २२ गरी ५७ सांसद रहेका छन् ।
तीन दल मिल्दा ५८ जना सांसदको समर्थनसहित गठबन्धनले प्रदेश सरकार गठन गर्न सक्ने देखिएको हो ।

 

  • २० भाद्र २०७८, आईतवार १६:०६ प्रकाशित