स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक,विद्यार्थी र कर्मचारी आन्दोलनमा

केन्द्रभाग मिडिया

 

पोखरा । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले आइतवारदेखि सेवा बहिष्कार गरेका छन् ।

उच्चस्तरीय छानबिन कार्यदलको प्रतिवेदन र मन्त्रालयले गरेको ६ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै संयुक्त संघर्ष समितिले सेवा बहिष्कार गरेको हो।

स्वास्थ्यकर्मीहरुले आइतवारदेखि इमर्जेन्सी र कोभिड अस्पतालको बाहेक अन्य सबै सेवा बहिष्कार गर्ने भएका छन्।
आन्दोलनले प्रतिष्ठानको ओपिडी सेवा ठप्प हुनेछ। प्रतिष्ठानमा असार १ गतेदेखि संयुक्त संघर्ष समितिले शुद्धीकरण आन्दोलन जारी राखेको छ।

अनियमितता र बेथिति बढेको भन्दै उनीहरुले बीपीका सबै पदाधिकारीहरूको राजीनामा र छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गर्दै आएका छन्।
सरकारले गठन गरेको उच्चस्तरीय छानबिन कार्यदलले प्रतिवेदन बुझाएको एक महिना बितिसकेको छ।

आन्दोलनकारीसँग स्वास्थ्य मन्त्रालयले सम्झौता गरेको पनि आइतवार १ महिना पूरा भएको छ।

तर, सरकारले कार्यदलको प्रतिवेदनले दोषी औल्याएका पदाधिकारीहरूलाई कारबाही गर्न चासो देखाएको छैन।
समितिका संयोजक डा। एसपी रिमालले सरकारले प्रतिवेदन र सहमति कार्यान्वयनमा उदासीनता देखाएकाले आन्दोलन गर्न बाध्य भएको बताए।
आकस्मिक सेवा, कोभिड अस्पतालको सेवा र पूर्वनिर्धारित परीक्षाहरु जारी रहने उनले प्रष्ट पारेका छन्।

 

  • २० भाद्र २०७८, आईतवार १४:०७ प्रकाशित