निर्वाचन आयोग र सभामुखविरुद्धको मुद्दाको सुनुवाई प्रधानन्यायाधीशको बेञ्चमा

केन्द्रभाग मिडिया

काठमाडौँ ।
निर्वाचन आयोग र प्रतिनिधि सभाका सभामुखविरुद्ध नेकपा एमालेले दायर गरेको रिटमाथिको सुनुवाई आज हुँदैछ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दर्ता गराएका ती दुवै मुद्दाको पेशी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा तोकिएको छ ।

यसअघि शुक्रबार उक्त मुद्दाको पेशी न्यायाधीश मीरा खड्काको एकल इजलासमा तोकिए पनि सुनुवाइ भने हुन सकेन । आज प्रधानन्यायाधीश आफैले उक्त मुद्दा हेर्दै छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले यही भदौ १ गते माधवकुमार नेपालसहित १४ सांसदलाई पार्टीबाट कारबाही गर्दै सांसदबाट समेत पदमुक्त गर्न भनी संसद् सचिवालयमा पत्र पठाएका थिए । तर सभामुख अग्निप्रसाद सापकोटाले उनीहरुमाथि कारबाही नगरेको र संविधानले नदिएको अधिकार प्रयोग गर्दै पत्र रोकेर राखेको दाबीसहित ओली अदालत पुगेका हुन् ।

साथै पार्टीबाट कारबाही गरिसकिएका सांसदहरुको समेत सनाखत गरी नेकपा (एकीकृत समाजवादी) नाम नयाँ दल दर्ता गर्नु निर्वाचन आयोगको गम्भीर त्रुटि रहेको भन्दै ओलीले अर्को रिट दायर गरेका थिए । उनले समाजवादी पार्टीको दर्ता खारेज गर्न समेत माग गरेका छन् ।

  • २० भाद्र २०७८, आईतवार ११:४३ प्रकाशित