काँग्रेसको महाधिवेशनमा सभापति पदमा गोपालमान श्रेष्ठले उम्मेदवारी दिने

केन्द्रभाग मिडिया

पोखरा । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ आसन्न १४ औं महाधिवेशनमा सभापति पदको उम्मेदवारी दिने तयारीमा जुटेका छन्।
उनले गृहजिल्ला स्याङ्जा पुगेर आसन्न महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने औपचारिक रुपमै घोषणा गरेका हुन ।

उम्मेदवारीको औपचारिक घोषणापछि केन्द्र खवरसँगको कुराकानीमा उनले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको सहयोगमा आफू उम्मेदवार बन्ने जिकिर गरे।

‘देउवाजी प्रधानमन्त्री हुनुहुन्छ। उहाँले प्रधानमन्त्री चलाउनुहुन्छ,’ श्रेष्ठले भने, ‘म उहाँको सहयोगमा सभापति उठ्छु। जित्छु र पार्टी चलाउँछु।’
उनी यस अघिदेखि नै आसन्न महाधिवेशनमा आफू सभापति पदमा उम्मेदवार बन्ने बताउँदै आएका थिए।

कांग्रेसका पूर्व उपसभापति समेत रहेका नेता श्रेष्ठ मंसिरमा हुने महाधिवेशनमा सभापति देउवाले आफूलाई सघाउनेमा ढुक्क देखिन्छन्।
कांग्रेसको संगठन विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका श्रेष्ठले यसअघिका विभिन्न छलफलका क्रममा देउवाले आफूलाई सघाउने वचन दिँदै आएको पनि स्मरण गरे।

‘देउवाले धेरै पटक मलाई सहयोग गर्ने भनिसक्नु भएको छ,’ उनले भने, ‘मसँग कुरा गर्दा उहाँ गोपालमानजी मैले छोड्ने बेला तपाईंलाई नै छोड्ने हो भन्दै पनि आउनुभएको छ।’
नेता श्रेष्ठले आफूले यसअघि सभापति देउवाको कार्यवाहक भएर काम गरिसकेको स्मरण गर्दै कारागारमा भएका बेला उनलाई सभापति बनाएको पनि बताए।

‘मैले उहाँको कार्यवाहक भएर काम गरिसकेको छु। उहाँ जेलमा हुनुहुन्थ्यो, त्यो बेला अधिवेशन गरेर मैले ११ औं महाधिवेशनमा उहाँलाई सभापति बनाएको हुँ,’ श्रेष्ठले भने, ‘१० औं, ११ औं, १२औं र १३ औंमा म उहाँसँगै छु। अब १४ औंमा पनि सँगै हुन्छौं।’

उनले बुधबार स्याङ्जा कांग्रेसका कार्यवाहक सभापति कुमार रानाको सभापतित्वमा आयोजित अगुवा कार्यकर्ता भेलामा उम्मेदवारी घोषणा गरेका थिए।
यसअघि कांग्रेसका उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य कल्याण गुरुङले औपचारिक रुपमा नै उम्मेदवारी घोषणा गरिसकेका छन्।
कांग्रेसका संस्थापन इतर समूह पनि आसन्न महाधिवेशनमा साझा उम्मेदवार चयनको प्रयासमा छ। इतर समूहमा रहेका सभापति पदका आकांक्षीहरुको पटक(पटक छलफल भए पनि साझा उम्मेदवार तय हुन सकेको छैन।

उक्त समूहले बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दैछ। साझा उम्मेदवार तय गर्न नसकेको इतर समूह आफूहरु एकजुट भएको सन्देश दिन पत्रकार सम्मेलन गर्न लागेको बताइएको छ।

 

  • १७ भाद्र २०७८, बिहीबार १४:५८ प्रकाशित