आफनो पार्टीमा साँसद र जनप्रतिनिधि तान्न उपेन्द्र र महन्थ जनकपुरमा

केन्द्रभाग मिडिया

 

पोखरा । आफ्नो पक्षमा बढीभन्दा बढी प्रदेश सांसद बचाउन र पार्टीमा तान्न जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर यतिखेर जनकपुरमा गएका छन् ।

जनता समाजवादी पार्टी र नेकपा एमाले विभाजन भएसँगै प्रदेश २ का जनप्रतिनिधिहरू पनि दलबदलमा लागेका छन्।
एमाले विभाजन भएर एकीकृत समाजवादी पार्टी र जसपा विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी खुलेपछि जनप्रतिनिधि दलबदलमा लागेका हुन्।

एमाले र जसपा छाड्ने संघीय सांसद प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधि एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी सनाखत गर्न मंगलबारदेखि जिल्ला निर्वाचन कार्यालयमा पुग्नथालेका छन्।

निर्वाचन कार्यालयमा भदौ २२ गतेसम्म रहेको सनाखत गर्ने समय तोकिएको छ।
मधेशवादी दलको आधार क्षेत्र रहेको प्रदेश २ मा जसपाबाट महन्थ पक्षका सांसद लोसपामा सनाखत गर्न थालेका छन्। पूर्वसंघीय समाजवादी फोरमको ३० र राजपाको २५ गरी ५५ जना प्रदेश सांसद छन्।

लोसपा अध्यक्ष ठाकुरसहितका केन्द्रीय नेता बुधबार नै जनकपुर आइपुगेका छन् भने जसपा अध्यक्ष यादव बिहीबार मध्यान्ह १२ बजे जनकपुर आएका छन्। दुवै दलका केन्द्रीय नेता भदौ २२ गतेसम्म जनकपुरमै रहनेछन्।

जसपा अध्यक्ष यादव २२ गतेसम्म नै जनकपुरमा रहने सो पार्टीका प्रतिनिधिसभा सदस्य डा। सुरेन्द्र यादवले जानकारी दिए ।
बुधबार निर्वाचन कार्यालय पुगेर जसपाका ११ जनाले लोसपामा सनाखत गरेका थिए भने केही जसपाका सांसदले आज बिहीबार सनाखत गर्दै छन्।

बढीभन्दा बढी सांसद र स्थानीय तहका जनप्रतिनिधि आफ्नो पार्टीमा बचाउन र तान्नका लागि ती नेताहरुले कसरत गरिरहेका छन्।
यसैबीच नेकपा एमालेका ११ जना सांसदले आज एकीकृत समाजवादी पार्टीमा सनाखत गर्ने तयारी गरेका छन्। एमालेका २१ प्रदेश सांसदमध्ये माधव नेपालमा १३ जना सांसद खुलेका छन्।

जसमध्ये २ सांसद केही कारणवश बाहिर रहेकाले आज ११ जनाले सनाखत गर्ने प्रदेश सांसद सत्रुधन महतोले जानकारी दिए।
अन्य २ जनालगायत अरु केही सांसदले अर्को दिन सनाखत गर्ने उनले बताए।

 

  • १७ भाद्र २०७८, बिहीबार १४:३६ प्रकाशित