पोखराको भलाम र काहुँमा पहिरो, तीन जनाको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराको भलाम र काहुँमा गएको छुट्टाछुट्टै पहिरोमा परेर तीन जनाको ज्यान गुमेको छ । एक जना बेपत्ता भएका छन् । पाँच जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले पोखरा २० भलाममा र पोखरा ११ काहुँमा पहिरो जाँदा भलाममा दुई जना र काहुँमा एक जनाको ज्यान गुमेको जानकारी दिए । ज्यान गुमाउनेमा पोखरा २० भलामका भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङको ज्यान गुमेको हो ।

श्रेष्ठको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा र सुनमायाको घटनास्थलमै ज्यान गुमाएको उनले जानकारी दिए । उनीहरुका तीन वर्षीय छोरा सन्तोष पहिरोमा बेपत्ता छन् । नौ वर्षीय घाइते छोरा राजकुमारको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी पोखरा–११ भन्ज्याङ नमुनाटोलस्थित एक घर पहिरोमा पुरिदा ४२ वर्षीय लक्ष्य नेपालीको ज्यान गुमेको छ । पहिरोमा परेर घाइते उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गुमेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । नेपालीकी छोरी १४ वर्षीया सृष्टि उपचारपछि डिस्चार्ज भएकी छन । श्रीमती र दुई छोराको भने मध्यरातमै सकुशल उद्धार गरी मामाको घरमा राखिएको उनले जानकारी दिए ।

त्यस्तै पोखरा–११ बसेरीमा एक घर पहिरोमा पुरिँदा एकदेव तिमिल्सिना, उनकी श्रीमती रितु, छोरा गिरीश घाइते भएका छन् ।
भालममा राति करिव ११ बजे घर माथिबाट आएको पहिरोले श्रेष्ठको घर भत्काएको हो । पहिरो गएको बेला घरमै सुतेका उनीहरुलाई पहिरोले घर सहित बगाएको हो । श्रेष्ठको घरको निसाना समेत देखिएको छैन ।

श्रेष्ठलाई घरबाट तीनसय मिटर तलबाट उद्धार गरि अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही ठाउँबाट मृत अवस्था उनकी श्रीमति श्रीमयाँ तामाङ श्रेष्ठको शव निकालिएको थियो । उनको तीन वर्षीय छोरा सन्तोषको खोजी कार्य जारी छ । उक्त स्थानमा थप पाँच घर पूर्ण रुपमा क्षेती पुगेको छ ।

उक्त स्थानमा रहेको महेन्द्र मावि सहित आठ वटा घरमा आंसिक क्षेती भएको वडा नम्बर २०का वडा अध्यक्ष सिम गुरुङले जानकारी दिए । उनका अनुसार पूर्ण क्षेती भएका पाँच घरका परिवारलाई आफन्तकोमा लगिएको छ ।

  • १७ भाद्र २०७८, बिहीबार ११:२८ प्रकाशित