पोखरा ।
पोखरामा जारी १९ औँ आहा रारा गोल्डकपमा सेमिफाइनलको समिकरण पुरा भएको छ । नेपाल पुलिस क्लबले अन्तिम क्वाटरफानल खेलमा जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेसगै सेमिफाइनल समिकरण पुरा भएको हो ।

पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो ।
पुलिसलाई जित दिलाउन बुद्ध बल तामाङले दुई गोल गरे । यस्तै तेज तामाङ र सौजन राईले एक एक गोल गरे ।
मकवानपुरको बागमती गोल्डकप जितेर पोखरा पुगेको थ्री स्टारविरुद्ध पुलिसले खेलको २८ औं मिनेटमा बुद्धको गोलबाट अग्रता बनाएको थियो । उनले तेजको फ्रिकिकमा वन टच गोल गरे ।
पुलिसले दोस्रो हाफमा भने थ्री स्टारविरुद्ध लगातार गोल गर्यो । खेलको ६७ औं मिनेटमा तेज तामाङले गोल गर्दै पुलिसको अग्रता २–० को बनाए । उनले नीर कुमार राईको पासलाई सदुपयोग गरे ।
खेलको ७० औं मिनेटमा थ्री स्टारका कप्तान अनन्त तामाङ चोट बोक्दै मैदानबाट बाहिरिएका थिए । उनको स्थानमा मिन धिमाल मैदान प्रवेश गरेका थिए ।
खेलको ७३ औं मिनेटमा सुमन लामाको पासमा बुद्धले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई ३–० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८५ औं मिनेटमा सौजनले गोल गर्दै पुलिसलाई ४–० को जित दिलाए । उनले सुमन लामाको पासलाई सदुपयोग गरे ।
सेमिफाइनलमा सात पटकको च्याम्पियन पुलिसले सेमिफाइनलमा अफ्रिकन रुट एसोसियसनसँग प्रतिस्पर्धा गर्नेछ ।
अफ्रिकन रुट मछिन्द्र क्लबलाई हराएर सेमिफाइनल पुगिसकेको छ ।
अब पहिलो सेमिफाइनलमा संकटा क्लब र एपीएफ क्लब भिड्ने छन् ।
प्रतिक्रिया लेख्नुहोस् :