
पोखरा ।
नेलम्बो नेपालले विपन्न समुदायका नागरिकका लागि निशुल्क मुख तथा दाँत रोगको परीक्षण तथा उपचार सेवा सुरु गरेको छ । शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्ने उद्देश्यले तीन वर्ष अगाडि स्थापना भएको उक्त संस्थाले शुक्रबार देखि मुख तथा दाँत रोगको परीक्षण र उपचार सेवा सुरु गरेको हो ।
सेवाको सुभारम्भ पोखरा २६ को श्रृजना बहिरा आवासीय माध्यमिक विद्यालयबाट गरिएको छ । सेवा आरम्भ गर्दै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले राज्यले गर्नुपर्ने काम नेलम्बोले गरेको भन्दै कार्यको प्रसंसा गरे । उनले विशिष्टिकृत सेवा प्रारम्भ गरेको भन्दै नेलाम्बो नेपाललाई धन्यवाद दिएका छन् ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर २६का वडाध्यक्ष नारायाण प्रसाद बरालले आफ्नो वडामा गहनाको रुपमा रहेको विद्यालयमा सेवाको आरम्भ गरेको भन्दै खुशी व्यक्त गरे । उक्त विद्यालयमा विभिन्न ४२ जिल्लाबाट विद्यार्थी अध्ययनका लागि आएको जानकारी दिए ।
कार्यक्रमको अध्यक्षता गरेका नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले नेलम्बो नेपाल सधैं विपन्न नागरिकलाई सेवा गर्न तत्पर रहेको भन्दै मुख तथा दाँतको उपचार सेवाले अस्पतालको पहुँचसम्म पुग्न नसकेका नागरिकले निशुल्क सेवा पाउने जानकारी दिए ।
गण्डकी प्रदेश सरकार र स्थानीय सरकारहरुसंग मिलेर आफूहरुले काम गर्ने उनले बताएका छन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम पौडेलले बहिरा अपांगता भएका विद्यार्थीको कुरा अभिभावकले समेत नबुझ्दा समस्या आउने गरेको बताए । उनीहरुलाई नै पहिलो प्राथमिकतामा राखेर सेवा गरेकोमा नेलम्बो नेपाल प्रति उनले अभार प्रकट गरे ।
विद्यालयका प्रधानाध्यापक अनिता सिग्देलले आफ्नो विद्यालयमा पढ्ने दुई सय भन्दा धेरै विद्यार्थी र ३३ जना शिक्षकको तर्फबाट नै नेलम्बोको तर्फबाट लाभ लिने बताइन् । विद्यालयका सहप्रधानाध्यापक राजेन्द्रप्रसाद शमाले गण्डकी प्रदेशका अन्य जिल्लामा पनि बहिरा विद्यालय रहेको भन्दै ति विद्यालयहरुमा पनि यस्तो सेवा दिन आग्रह गरे ।
उक्त कार्यक्रममा गैरसरकारी संस्था महासंघ कास्कीका सचिव डा. बुद्धिबहादुर थापा, नेपाल पत्रकार महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सिना, प्रेस युनियान कास्कीका सभापति नवीन सिग्देल र फोनिज कास्कीका अध्यक्ष दीलबहादुर गुरुङ लगायतले कोरोना संक्रमणका बेला स्थानीय तह, विद्यालय र स्वयम पत्रकारका संस्थाहरुलाई समेत स्वास्थ्य सामग्री प्रदान गरेको नेलम्बो नेपालले थालेको दाँत तथा मुख रोगको उपचार सेवा स्रहानीय रहेको बताए । उक्त विद्यालयमा शुक्रबारदेखि सुरु मुख तथा दन्त शिविर एक हप्तासम्म चल्ने छ ।
फोर्स ट्राभलर भेनमा वेल इकुप्मेन्ट डेण्टल क्लिनिक
नेलम्बो नेपालले फोसं ट्रभलर भेनलाई मोडिफाई गरी त्यसैमा वेल इकुप्मेन्ट डेण्टल क्लिनिक सञ्चालनमा ल्याएको हो । उक्त ट्राभलर भेनमा मुख तथा दाँतको उपचारका लागि चाहिने सम्पूर्ण आधुनिक उपकरण जोडिएको सिनियार डेन्टल सर्जन डा. रोशन केसीले जानकारी दिए । डा. केसीका अनुसार उक्त भेनमा जडित उपकरण मार्फत आफूसहित डेन्टल हाइजेनिष्ट, क्लिनिकल सापोर्ट सहित पाँच जनाको जनशक्ति परिचालित हुने छ ।
उनका अनुसार मास स्कृनिङ गर्ने र आवश्यक अनुरुप अप्रेसन लगायतका सेवा दिइने छ । विपन्न समुदायमा पुगेर मुख तथा दाँत रोगको बारेमा जनचेतना जगाउनुका साथै दाँतको पुरै उपचार गरिने छ ।
भेनमा सोलार प्यानल जोडिएको छ । एसी र दाँत उपचारका लागि चाहिने सबै आधुनिक उपकरण जोडिएको डा. केसीले जानकारी दिए । राम्रा दाँतका अस्पतालले दिने सेवा भन्दा अझै उन्नत सेवा आफूहरुले दिने उनको दाबी छ । भ्यान सहितका सबै उपकरण जोड्न नेलम्बो नेपालले ६८ लाख रुपैयाँ खर्चिएको छ ।
प्रतिक्रिया लेख्नुहोस् :