पर्यटकीय नगरी पोखरा र जीतपुर सिमराबीच सिधा हवाई सेवा सञ्चालन हुने भएको छ । यति एयरलाइन्सले आगामी चैत १५ गतेदेखि हवाई सेवा सञ्चालन गर्ने भएको हो ।

गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आज आयोजित सरोकारवाला निकायको संयुक्त बैठकले आन्तिरक एवं भारतीय पर्यटक प्रवद्र्धन गर्ने लक्ष्यका साथ हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।
फागु पूर्णिमादेखि सञ्चालन गरिने हवाई सेवाअन्तर्गत प्रत्येक हप्ताको आइबार, बुधबार र शुक्रबार उडान गरिने र शुरुमा प्रति यात्रु रु चार हजार ५०० को टिकट लाग्ने एयलाइन्सले जनाएकोछ । सो रुटको उडान कूल ३० मिनेटको हुनेछ ।
गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पर्यटनको राजधानी पोखरालाई मुलुकका सातवटै प्रदेशसँग सिधा हवाई सेवासँग जोड्ने अभियानअन्तर्गत पोखरा–सिमरा उडान शुरु गर्न लागेको बताए ।
निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई मध्येनजर गर्दै औद्योगिक शहर विराटनगरसँग यसअघि नै उडान शुरु गरिएको बताउँदै उनले जनकपुरधाम, नेपालगञ्ज र धनगढीजस्ता मुख्य शहरमा हवाई सेवा शुरु गर्ने तयारी भइरहेको जानकारी दिए ।
कोभिड–१९ को कारण थला परेको पर्यटन व्यवसायको प्रवद्र्धनका साथै आर्थिक गतिविधिलाई चलायमान बनाउन हवाई सेवाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै मन्त्री लम्सालले यसका लागि सबैको साथ सहयोग आवश्यक रहेको बताए।
प्रतिक्रिया लेख्नुहोस् :