काठमाडौं ।
प्रतिनिधिसभा विघटनपश्चात् सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिक नेतृत्व कसको भन्नेबारे विमति चर्किरहेको बेला प्रधानमन्त्री केपी ओलीले पार्टी आफूहरूले नै बनाएको भन्दै विरोधीहरूको निन्दा गरेका छन्।
असन्तुष्ट समूहको अगुवाइ गरिरहेका नेताहरूले निर्वाचन आयोगमा ‘आफूहरू असली हो’ भनेर निवेदन दिएको जानकारी पाएको ओलीले बताए।
काठमाण्डूमा शनिवार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, “जसको घर हो, जसको जमिन हो, ऊ मेरो हो भन्दै निवेदन हाल्न जान्छ? यो पार्टी हामीले बनाएको हो। विधिसम्मत ढङ्गले पार्टी सञ्चालन गरिरहेका छौँ।”
“झरेको फलले रुखै मै हुँ भनेर दाबी गर्ने?”
विघटनको बचाउ
प्रतिनिधिसभामा काम गर्न नदिइएको र सरकारलाई काम गर्न नदिइएकाले विघटन गर्नु परेको उनले इङ्गित गरे।
“लोकतन्त्र खतरामा पर्यो। संविधान खतरामा पर्यो। स्थायित्व खतरामा पर्यो,” उनले भने।
आफ्ना पुराना पार्टी सहकर्मीहरूप्रति कटाक्ष गर्दै उनले भारत र चीनका नेताहरूले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराको समर्थन गरेको तर पार्टीकै नेताहरू प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले चर्चै नगरेको उल्लेख गरे।
उनले चुनावका काममा निर्वाचन आयोग, सुरक्षाकर्मी तथा जनता लागिसकेकाले त्यसमै आएर आफ्नो हैसियत देखाउन असन्तुष्टहरूलाई चुनौती दिए।
“आफ्नो दलको लगभग दुईतिहाइको सरकार भताभुङ्ग गर्ने अनि रङ्गीविरङ्गी पुतली सरकार बनाउने गरि देशलाई अस्थिरतामा फसाउने प्रयास रोक्नका निम्ति (विघटन) गरिएको हो,” उनले भने।
आफूसँग ६३/६४ प्रतिशत सांसदको समर्थन रहेका बेला अब सरकार चलाउन्न भनेपछि बाँकी के विकल्प हुन्छ भनेर ओलीले प्रश्न गरेका थिए।
राष्ट्रको बाँकी अवधि खेर फाल्न नदिनका लागि ताजा जनादेश अनिवार्य रहेको भन्दै अब संसद् पुनर्स्थापना हुन नसक्ने उनले बताए।समाचार फोटो साभारः बीबीसी
Discussion about this post