रुपन्देही ।
पाँच पटक म्याद थप गरिसकेको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको म्याद बिहीबार सकिएको छ । विमानस्थल निर्माण कम्पनीले म्याद सकिए पनि निरन्तर कामलाई जारी राख्ने जनाएको छ ।
निर्माणको काम सम्पन्न गर्न नसकेको भन्दै विमानस्थल आयोजनाले छैटौं पटक म्याद थपका लागि प्रक्रिया अगाडि बढाइसकेको छ ।
गौतमबुद्ध विमानस्थल स्तरोन्नति आयोजनाले निर्माण कम्पनीको म्याद थपको निवेदन आएपछि अहिलेसम्मको प्रगति र बाँकी काम सम्पन्न गर्न लाग्ने समयावधिलाई आकलन गरेर म्याद अवधि थप गर्ने वा ठेक्का रद्द गर्ने भन्ने विषयमा निर्णय गरेको छैन ।
आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले म्याद थप कहिलेसम्म हुन्छ भन्ने कागजी प्रक्रियामा रहेको बताए । काम निरन्तर भइरहेको छ, निर्माण कम्पनीले काम सम्पन्न गर्न नसकेपछि म्यादको थप गर्नुपर्ने भयो ।
उपकरण आइसकेको आयोजनाले जनाएको छ । तर उपकरण जडान गर्नका लागि सबै प्राविधिक विदेशबाट झिकाउन पर्छ । आयोजनाले भौतिक पूर्वाधार निर्माणको काम भने सम्पन्न भएको जानकारी दिएको छ ।
२०७१ माघ १ गते सन् २०१५ जनवरी मा पूर्व प्रधानमन्त्री स्वर्गीय शुसील कोइरालाले शिलान्यास गरेपछि विमानस्थल निर्माणको काम सुरु भएको हो ।
सिभिल वर्कतर्फ सन् २०१७ को डिसेम्बरमा निर्माण सक्ने गरी २०१४ को डिसेम्बर २१ मा चिनियाँ कम्पनी नर्थवेष्ट सिभिल एभियसन कन्स्ट्रक्सन गु्रपसँग ठेक्का सम्झौता भएको हो ।
तर २०२० को डिसेम्बरसम्म काम सम्पन्न भएको छैन । अहिलेसम्म आयोजनाको म्याद ५ पटक थपिएको छ । छैठौं पटक थप्ने तयारी छ ।
यो आयोजना सुरु भएलगत्तै नाकाबन्दी र मधेश आन्दोलनको चपेटामा पर्यो ।
त्यसपछि आयोजनामा घुसेको राजनीतिले पनि केही समय काम ठप्प भयो ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालका छोरा निर्भिक खनाल, युवा संघका नेता राजु गुरुङलगायतका नेकपा सम्बद्ध युवाको समूह सव–कन्ट्रयाक्टर बनेर आयोजनामा पसेपछि विवाद भएको थियो ।
चिनियाँ कम्पनीको फितलो व्यवस्थापन र सव कन्ट्रयाक्टरसँगको विवादले झण्डै एक वर्ष आयोजना प्रभावित बन्यो ।
त्यहीबेला एशियाली विश्व बैंकले ठेक्का रद्द गर्नेसम्मको चेतावनी दिएको थियो ।
तर तत्कालिन आयोजना प्रमुख ओम शर्माले राजनीतिक जोखीम मोलेरै भए पनि कन्ट्रयाक्टर, सवकन्ट्रयाक्टरको विवादकैबीच आयोजनालाई सही ट्रयाकमा ल्याउन सफल भएका थिए ।
आइसिवि –०२ संचार उपकरण तर्फ सन २०१९ को मार्चमा ठेक्का सम्झौता भएको हो । जसको म्याद २०२० को डिसेम्बरसम्म मात्रै छ ।
चाँडो संचालनमा आउनेमा आशंका
विमानस्थल निर्माण आयोजनाले प्राविधिक जनशक्ति उपलब्ध भए तीन महिनामा काम सक्ने दाबी गरे पनि प्राधिकरणका कतिपय अधिकारीहरू भने विमानस्थल छिट्टै सञ्चालन हुनेमा आशंका व्यक्त गर्छन् ।
‘फिल्डमा आयोजनाका थुप्रै काम बाँकी छन् । सञ्चालनका लागि गर्नुपर्ने पूर्व तयारीहरू गरिएको छैन । सरासर काम भयो भने पनि ती काम सक्न कम्तीमा एक वर्ष लाग्छ,’ प्राधिकरणका एक अधिकारीले भने ।
उनका अनुसार पहिले आइसिवि वान र टु का सबै काम सक्नुपर्छ । सुरक्षा, अध्यागमन, भन्सार जस्ता सबै सेवा सुविधा र कर्मचारी व्यवस्थापन समयमै गर्नुपर्छ ।
सबै कुराको व्यवस्थापन भएपछि परिक्षण उडान अघि थाइल्याण्डबाटै ल्याएको जहाज उडाएर सिष्टम चेक गरिने छ । त्यसका साथै भैरहवा विमानस्थल भारतको सीमा नजिक छ । अन्तर्राष्ट्रिय उडानका जहाजले अर्को देशको आकाश छुन सक्ने अवस्थामा सम्बन्धित देशसँग अनुमती लिनुपर्ने हुन्छ ।
त्यसका लागि भारतीय पक्षसँग छलफल भइरहेको र सकारात्मक प्रतिक्रिया आए पनि सम्झौताका लागि तयारी बाँकी नै रहेको छ ।
Discussion about this post