पोखरा ।
पोखरा महानगरपालिकाका वडा नम्बर २०का दुर्गाबहादुर गुरुङ अध्ययन पछि यहाँ केही अबसर छैन भन्दै विदेशिनेहरुका लागि गतिलो उदाहरण हुन् । उनले आफूले पालेको बाख्रा बेचेरै अहिले बार्षिक १२ लाख रुपैयाँभन्दा बढी कमाउँछन् ।

उमेरले ४४ पुगेका गुरुङले जापानको जाइका प्रोजेक्टमा आकर्षक जागिर छोडेर १६ वर्ष अघि बाखा्रा पालन सुरु गरेका हुन् । अरुहरु आफ्ना छोराछोरी पढाउन भन्दै गाउँबाट सहर पस्छन् । तर, दुर्गाबहादुरले शहरको जागिर मात्र छाडेनन्, आफूसंगै बोर्डिङ पढिरहेका छोराछोरी र श्रीमतिलाई नै गाउँ लिएर फिर्किए । श्रीमति अहिले उनलाई सघाउँछिन् । छोरा घर नजिकैको सरकारी विद्यालय हिमालय माविमा एसइइ पास गरेर अहिले भिडाबारीको बराह माविमा पशुपालन सम्बन्धी प्रविधिक शिक्षा लिइरहेका छन् । छोरी आशिका ९ मा पढ्छिन् । उनीहरुले पढ्दै विहान बेलुका सघाउन पनि भ्याएका छन् ।
सहरमा शिक्षा पाउने तर शिक्षित नहोइने उनले सुनाए । ‘सहरमा शिक्षा छ, शिक्षित भइदैन, शिक्षित हुन त ब्यवहारीक हुनुप¥यो नी,’ उनले भने, ‘त्यसैले महंगा बोर्डिङ स्कुल होइन मैले आफ्नै गाउँको स्कुल पढाएको छु ।’ गाउँमा सेवाभाव रहने र एक अर्कालाई सहयोग गर्न अनि लिन पाइने उनको अनुभव छ ।
उनका तीन खोरमा अहिले १ सय ५० बाख्रा छन् । मौजा हिल लाइभ स्टक बाख्रा फार्म दर्ता गरेका उनले बाख्रा पालनसंगै समाज सेवामा समेत समय दिन भ्याएका छन् । सुकिला मुकिला देखिने दुर्गा मौजा बाख्रा पालन कृषि सहकारी संस्थाका पनि अध्यक्ष हुन् । उनी अध्यक्ष रहेको सहकारीमा अबद्ध सदस्यले पालेका बाख्रा संख्या २ हजार पाँच सय भन्दा बढ्ता छन् । ‘म मात्र होइन यहाँ मैले झैँ अहिले बाख्राबाट राम्रो आम्दानी लिने धेरै छन्, १२ देखि १५ लाख बार्षिक बाख्रापाठा बेचेर कमाउनेहरु धेरै छन्,’ उनले भने, ‘एक किसिमले भन्नुहुन्छ भने बाख्राले यहाँको जीवनशैलि नै बदलिदिएको छ ।’
बाख्रा पालनका लागि पकेट क्षेत्र मौजामा उनको सहकारीमा आबद्ध ८५ मध्य ३७ परिवारले अहिले बाख्रा पाल्छन् । बयर, सानन्, खरी र बिटा र जमुनापारी, सिनाल जातका बाख्रा पालेका उनले देशका विभिन्न भागबाट त्यहाँका बाख्राको अध्ययन र अनुसन्धान गर्न समेत आउने गरेको सुनाए । दुर्गाले अहिले आफ्नो बाख्रा फार्म हेर्न र परामर्स लिन आउँने समूहसंग एक हजार रुपैयाँ लिने गरेको जानकारी दिए । ‘धेरै आउन थाल्नु भयो, परामर्श नदिइपनि भएन,’ उनले भने, ‘फि नलिइ नहुने अवस्था आएपछि बाध्य भएर लिन थालेको छु ।’ झन्डै दुई हजार माथिलाई आफूले यस्तो परामर्स दिएको उनले बताए ।
अलावा सहकारी सदस्यलाई १२ प्रतिशत ब्याजदरमा ऋण दिने गरेको उनले जानकारी दिए । गर्ने चाहना हुनेका लागि पुँजीकै अभाव नहुने उनको भनाई छ । प्रशस्त भिरालो जमिन र चरिचरनको ब्यवस्था भएकाले मौजामा बाख्रा पालन फस्टाएको र अझै बाख्रा पाल्नेहरु बढ्दै गएको उनले बताए । अहिलेसम्म झन्डै ८० लाख लगानी आफूले पु¥याएको बताएका उनले बाख्रा पालनलाई ब्यवस्थित गर्न एक सय रोपनी जमिनमा अहिले डाले र भई घाँस रोपेका छन् ।
ज्ञान केन्द्र र विज्ञ केन्दबाट आबश्यक सल्लाह लिने गरेको उनको भनाई छ । उनलाई बोका र पाठा भन्दा पाठीबाट राम्रो आम्दानी हुनेगरेको छ । ‘बोका र पाठा भन्दा पाठीको राम्रो मूल्य पाएको छु,’ उनले भने, ‘पाठी पाल्न लैजाँदा जिउँदै हजार रुपैयाँ किलो पर्छ ।’
दुर्गाले बाख्राको मल मुत्रको राम्रो ब्यवस्थापन गर्न सके त्यसैबाट श्रमिक र घाँसको मूल्य आउने उनको भनाई छ ।
कास्कीभरका बाख्रा पालक किसानबाट जुतो खरिद गरेर त्यसलाई प्रसोधन गर्न सके रासायनिक मल विस्थापन गर्न सकिने र अर्गानिक कृषि प्रणालीमा जान सकिने उनको भनाई छ । त्यसका लागि आफूहरुले कृषि ज्ञान केन्द्रसंग माग गरेको उनले जानकारी दिए । ‘जुतो प्रशोधन गर्न सकियो र प्याकिङ गरेर बेच्न सकियो भने देशलाई नै फाइदा हुन्छ, किसानले फाइदा नपाउने त कुरै भएन’ उनले भने ।
पोखरा–२० का वडाध्यक्ष सिमबहादुर गुरुङले बाख्रापालनको गाउँ भनेर वडाको चिनारी भएको बताउँदै बाख्रापालन र अन्य पशुपालनलाईसँगै लैजाने योजना रहेको बताए । बीउ बोका वितरण, घाँस काट्ने मेसिनलगायतका कार्यक्रममार्फत कृषकलाई वडामार्फत सहयोग उपलब्ध गराइएको उनले जानकारी दिए । ‘बाख्राको पकेट क्षेत्र मौजा भनेर हाम्रोे वडा चिनिएको छ । महानगरका ३३ वडामध्येमा कृषिको राम्रो सम्भावना यहाँ छ’, वडाध्यक्ष गुरुङले भने, ‘बाख्रासँगै अन्य व्यावसायिक कृषि उत्पादनका माध्यबाट वडालाई कषि पर्यटनको ‘हब’ बनाउँछौँ ।’
प्रतिक्रिया लेख्नुहोस् :