पोखरा ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समुहले मंगलबार देशव्यापि रुपमा गर्न लागेको प्रर्दशनको पूर्व सन्ध्यामा उक्त पार्टीका भातृ संगठन राष्ट्रिय युवा संघले राँके जुलुश प्रर्दशन गरेको छ ।

युवा संघ कास्कीले पोखराको पृथ्वीचोकमा सोमबार साँझ राँके जुलुश प्रदर्शन गरेको हो । राँके जुलुस निकाल्न नदिन तैनाथ सुरक्षा घेरालाई झुक्याउँदै पृथ्वीचोक भन्दा केहि माथिबाट युवाहरुले जुलुश निकालेका थिए ।
त्यस क्रममा निस्केको राँके जुलुशमा सहभागिहरुलाई प्रहरीले लाठीचार्ज गर्दै निर्मम कुटपीट गरेको युवा संघका केन्द्रीय सचिव सुमन देवकोटाले जानकारी दिए ।
प्रहरीले गरेको लाठीचार्जबाट युवा संघका केन्द्रीय सदस्य देवकोटा, सुजन बास्तोला, बिनायक तिमिल्सिना, क्षितिज सापकोटा, बलराम तिमिल्सिना, विपीन आचार्य, सञ्जय जैशी, बिजय थापालगायत घाईते भएको युवा संघ कास्कीका अध्यक्ष भोजराज पौडेलले जानकारी दिए । देवकोटाको आँखामा चोट लागेको छ भने अन्यको टाउको, ढाड र खुट्टामा चोट लागेको उनले बताए ।
राँके जुलुशपछिको कोणसभालाई सम्बोधन गर्दै युवा संघका केन्द्रीय सचिव सुमन देवकोटाले प्रधानमन्त्री ओलीले चालेको प्रतिगमनकारी कदम नसच्चिएसम्म आफूहरुले निरन्तर आन्दोलन गर्ने बताए ।
युवा संघ कास्कीका अध्यक्ष भोजराज पौडेलले शान्तिपूर्ण तवरले राँके जुलुश निकाल्ने क्रममा प्रहरीले दमन गरेको बताए । उनले अब थप सशक्त कार्यक्रम ल्याउने बताए ।
प्रतिक्रिया लेख्नुहोस् :